Saturday 4 February 2017

‘छक्का पञ्जा’ की काली बुढी भन्छिन् –एसएलसी पास गर्ने ठूलो धोको छ


काठमाडौं, माघ २३ – नेपाली चलचित्र उद्योगमा इतिहास कायम गर्न सफल चलचित्र ‘छक्का पञ्जा’ मा माग्ने बुढाको आमा बनेकी थिइन् शारदा गिरी । छक्का पञ्जामा उनलाई केदार घिमिरे उर्फ माग्ने बुढाले मायाले आमालाई ‘काली बुढी’ भनेर सम्बोधन गर्छन् । जसका कारण अहिले शारदा गिरीलाई धेरैले काली बुढी भनेर चिन्छन् । चलचित्र हेरेपछि ‘काली बुढी’को भूमिकामा अभिनय गरेकी शारदा गिरीको अभिनयलाई धेरैले तारिफ गरे ।
शारदा गिरी उर्फ काली बुढीको अभिनयबाट त धेरै परिचित छन् तर उनको व्यक्तिगत जीवनका बारेमा धेरै कमलाई थाहा छ । कतिलाई त उनको वास्तविक नाम पनि थाहा थिएन होला । उनी कलाकारितामा लागेको ३५ वर्ष भइसकेको छ । ३५ वर्षको अवधिमा उनले ३८ भन्दा धेरै चलचित्र र टेलिसिरियलमा काम गरेकी छिन् । तर उनलाई छक्का पञ्जामा काली बुढीको भूमिका निभाए पछि मात्रै एउटा कलाकारले पाउन पर्ने स्टारडम मिल्यो ।
६३ वर्षकी काली बुढीसँग कलाकारिताको लामो अनुभव रहेता पनि अध्ययनको अनुभव भने खासै रहेनछ । हामीसँगको कुराकानीमा सारदा गिरी उर्फ काली बुढीले आफू अहिले कक्षा ९ मा अध्ययन गर्दै गरेको बताएकी छिन् । पहिले नेपाली शब्द नचिनेका कारण कलाकारितामा धेरै दुःख पाएको कुरा पनि उनले हामीलाई सेयर गरिन् ।
उनले भनिन्, ‘मलाई नेपाली पनि पढ्न आउँदैन्थ्यो । यहि कारण चलचित्र शुटिङ गर्ने समयमा आफूसँग भएका साथीहरुलाई तिमीले बोलेपछि मैलै के बोल्नु पर्छ ? भनिदेऊ न ! भन्थेँ । साथीहरुले भनिदिन्थे अनि मलाई सजिलो हुन्थ्यो ।’
किन पढ्न पाइनन् उनले ?
खास गरी उनको समयमा छोरीमान्छे स्कुल जान हुन्न भन्ने कुराले मानिसको दिमागमा जरा गाडेको थियो । यहि कारण उनले पढ्न पाइनन् । बाल्यकालमा विद्यालय गएको सम्झँदै उनी आफ्नो पाइला स्कुलमा एकपटक मात्रै परेको बताउँछिन् । पहिलो दिन स्कुल गएकै समयमा शिक्षकको पिटाई खाएको कुरा सम्झदै भन्छिन्, ‘पहिलो दिन नै पढ्न जाँदा सरले पिट्नु भयो अनि घरबाट पनि पर्दैन, किन पढ्न पर्यो ? भनेका कारण म पढ्न गइन ।’
पढ्न नजाजनेका कारण कलाकारिता गर्ने क्रममा संवाद भन्नको लागि निकै गाह्रो भएको पीडा सुनाउदै उनले आफूले केही वर्ष पहिला प्रौढ शिक्षा पढेको र अहिले विद्यालय नै भर्ना भएर कक्षा ९ मा अध्ययन गर्दै गरेको बताइन् । ९ कक्षामा पढ्दै गरेकी काली बुढीलाई एसएलसी कटाउने निकै ठूलो धोको छ । १० वटा नातिनातिनिकी हजुरआमा भएकी उनलाई अहिले पनि चलचित्रहरुको अफर आउन छाडेको छैन । उनी अहिले पनि छायाँकनमा व्यस्त छिन् ।
समयको अभावले एसएलसी दिन नपाउने हो कि ! भन्ने पीर पनि उनलाई छ । जे होस् कालो अक्षर भैसी बराबर भएकै समयदेखि उनले अभिनय गर्न थालेकी थिइन् । उनको यो आँट र अहिलेको सफलतालाई हामीले सम्मान गर्नैपर्छ ।उज्यालो अनलाइनको सहयोगमा

No comments:

Post a Comment