फक्ताङ्लुङ संबाददाता
२१ माघ, ताप्लेजुङ ।
ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ ।
जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरेको हो । खोक्लिङ–८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण भनिने सार्के गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ ।
सामुदायिक वनको स्रोत सर्वेक्षण गर्नका लागि बोलाएर वनरक्षकको हत्या भएपछि प्रहरीले मुख्य अभियुक्त भनिएका सबिनसहित १५ जनालाई निगरानीमा राखेर अनुसन्धान गर्दै आएको थियो । नियन्त्रणमा रहेका १५ जनामध्ये खोक्लिङ–८ का पूर्णबहादुर लिम्बूलाई भने सादा तारेखमा छाडिएको छ भने तोयानाथ लिम्बूलाई रु ५० हजार धरौटी माग गरेको छ ।
विष्णुलाल भनिने हरि पन्त, दलबहादुर लिम्बू, पदम गुरुङ र लालबहादुर लिम्बूलाई जनही ३० हजार धरौटी माग गरिएको छ भने ताप्लेजुङ हाङदेवा–५ का रामबहादुर लिम्बू, ताप्लेजुङ नगरपालिका–६ का देउकला मादेन लिम्बू र रिया भनिने सोनिसा लिम्बूलाई जनही ४० हजार रुपैँया धरौटी माग गरेको छ ।
जाजरकोट जिल्लाको दशेरा गाविस–८ मा घर भई विगत दुई वर्षदेखि वनरक्षकमा कार्यरत रहेका शाहीको गत पुस १७ गते कार्यस्थलमा हत्या भएको थियो । खोक्लिङको ओइराखुस्थित सामुुदायिक वनको स्रोत सर्वेक्षणका लागि वनरक्षक शाही सर्वेक्षणका लागि खोक्लिङ गएका थिए ।
निजी र सामुदायिक वनको विषयमा भएको विवादमा बन रक्षक पनि तानिएपछि सबिन लिम्बूले खुकुरी प्रहार गरी बन रक्षक शाहिको विभत्स हत्या गरेका थिए ।
No comments:
Post a Comment