माघ २२, २०७३- नेपाली सेनाले लन्डनमा आयोजित ‘इन्टरनेशनल मिलिट्री हेलिकप्टर कन्फरेन्स’ मा आफ्नो हवाई क्षमताबारे विश्वलाई जानकारी दिएको छ ।
लन्डनस्थित रक्षासम्बन्धी काम गर्ने एक संस्था ‘आइक्यूपीसी’ ले ३१ जनवरी देखि गरेको तीन दिने सम्मेलनमा नेपाली सेनाले आफ्नो हवाई क्षमता, प्राकृतिक प्रकोप व्यवस्थापनमा हवाई रणनीति, क्षमता अभिवृद्धिबारे भावी योजना, महाबिनाशकारी भूकम्पका बेला सैनिक हवाई महानिर्देशनालयले निर्वाह गरेको भूमिकाआदिबारे जानकारी दिएको हो ।
नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, सहायक रथी धनेन्द्रबहादुर शाह (पाइलट) र कर्णेल सन्जिव घिमिरेले गत १ फेब्रुअरी बिहान विभिन्न प्रस्तुति दिएका हुन् ।
सम्मेलनमा सहभागी नारायण अधिकारीका अनुसार, रोचक पक्ष के थियो भने यस सत्रमा कार्यक्रमको सभापतित्व गरिरहेका पल एडवार्डले नेपाली सेनाको विशेष प्रस्तुति हुने भन्दै अन्य सहभागी देशलाई भन्दा पहिले नै १० मिनेट बढी समय दिइएको जानकारी गराएका थिए ।
उपस्थित अन्य देशका सहभागीले आयोजक संस्थासमक्ष नेपाललाई अर्को १० मिनेट समय थप्न आग्रह गरे । पल एडवार्डले नेपाललाई पुन: अर्को १० मिनेट समय दिंदै नेपाली सेनाका डेलिगेट्स सबैलाई स्टेजमा एकैपटक आउन अनुरोध गरे । नेपाली प्रतिनिधिमण्डल स्टेज पुगेपछि सहभागीले भूकम्पपछिको उद्धर र पुनर्निमार्णबारे जिज्ञासा राखेका थिए ।
बेलायती सेनाका एक कर्णेलले नेपाली सेनाको खुलेरै प्रशंसा गरे । न्यूजिल्यान्ड, पाकिस्तान, क्यानडालगायत देशका सहभागीले नेपाली सेनाबाट प्राकृतिक प्रकोप उद्धरसम्बन्धि अनुभव सिक्न आफ्नो देश उत्सुक रहेको भन्दै नेपाली सेनाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
२८ देशका १ स ६० भन्दा बढि प्रतिनिधि सहभागी उक्त १६ औं कन्फरेन्सको मुख्य उद्देश्य सैनिक प्रयोजनका हेलिकप्टरहरुको आधुनिकीकरणमा विशेष जोड दिंदै प्राविधिक र सैद्धान्तिक ज्ञान बांड्नु थियो । उक्त अवसरमा सैनिक प्रयोजनका हेलिकप्टर उत्पादन गर्ने विश्वका थुप्रै कम्पनीका प्राविधिकहरुले समेत सैनिक हेलिकप्टरको प्राविधिक र सैद्धान्तिक पक्षबारे प्रस्तुति दिए ।
सम्मेलनमा नेपाली सेना र आयोजक संस्थाबीचको समन्वय लन्डनस्थित सैनिक सहचारी कर्णेल प्रदीपजंग केसीले गरेका थिए ।
कार्यक्रममा न्यूजिल्याण्ड हाई कमिसन, लन्डनमा कार्यरत कर्णेल लिजाले शान्ति सम्झौतामा नेपालले निर्वाह गरेको भूमिकाबारे प्रशंसा गरेकी थिइन् । लिजा केही साता अघि लन्डनस्थित नेपाली दूतावासमा भएको ‘शान्ति सम्झौतापछि नेपाली सेनामा माओवादी लडाकुको समायोजन’ शीर्षकको एक कार्यक्रममा समेत सहभागी थिइन् ।
Source: eKantipur
Saturday, 4 February 2017
लन्डनमा नेपाली सेनाको हवाइ क्षमताको प्रशंसा
Labels:
World News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment