Friday, 3 February 2017

यस्तो छ डिआइजी नवराज सिलवालको ‘मिटर ब्याज धन्दा’को भित्री कथा (गोप्य अडियोसहित) -


काठमाडौं, २० माघ । गुनबहादुर थापा (शम्भु) लाई नेपाल प्रहरीका तत्कालीन एसएसपी हालका सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले ६ महिनाका लागि ऋण दिए, एक करोड रुपैयाँ, ०६६ मंसिर २६ गते । सिलवालले शम्भुलाई हप्तामा ब्याज तोकिदिए, एक सय १० प्रतिशत अर्थात् मासिक नौ लाख । थापाले सिलवाललाई मासिक नौ लाख ब्याज बुझाउँदै थिए । यहीबीच अर्को कारोबारको गठजोड बन्यो ।
माघ १४ गते सिलवाल र थापाबीच थपिए, कोमलकुमार श्रेष्ठ, जो दुवैसँग निकट थिए । एक हप्ताका लागि भन्दै सिलवालले श्रेष्ठलाई दुई करोड रुपैयाँ ऋण दिए । ब्याज तोकियो, हप्ताको २० लाख रुपैयाँ अर्थात पाँच सय २० प्रतिशत । जमानी बसेका थिए, शम्भू ।
‘डिआइजी सिलवालले जमानी बस्न कर गर्नुभयो,’ थापाले विभिन्न निकायमा दिएको उजुरीमा भनेका छन्, ‘साथीका लागि म जमानी बसिदिएँ । यसका लागि मेरो मकवानपुर जिल्लाको मनोहरी गाविसमा रहेको एक बिघा जग्गा (तत्कालीन अवस्थामा एक करोड र हाल दुई करोड मूल्यांकन हुने ) र काभ्रे जिल्लाको धुलिखेलस्थित अरनिको राजमार्गमा रहेको ६ रोपनी (तत्कालीन अवस्थामा साढे दुई करोड हाल तीन करोड रुपैयाँ पर्ने) जग्गा धितो राखेको हो ।’
यता, उनले आफूले लिएको एक करोड रुपैयाँको मासिक नौ लाखका दरले सावाँ र ब्याजसहित ६ महिनामा एक करोड ५४ लाख भुक्तान गरे । तर, नवराज सिलवालसँग कोमलकुमार श्रेष्ठले लिएको दुई करोड रुपैयाँको ब्याजमा तनाव सुरु भयो । श्रेष्ठले सिलवाललाई रकम बुझाउन सकेनन् । ०६६ माघ २१ गते (एक हप्ता)को २० लाख उनै शम्भुले तिरिदिए । हेनुस् (सिलवालले नै लेखेको हस्तलिखित पन्ना) त्यसपछि दुवैबीच हप्ताको २० लाख रुपैयाँ ब्याजलाई घटाएर हप्ताको १२ लाख ब्याज तिर्ने गरी पुनः ६ महिनाको सम्झौता भयो ।
त्यसको केही महिनापछि कोमलकुमार श्रेष्ठ सम्पर्कमा आएनन् । थापासहित दर्जनौँ व्यक्तिको करोडौँ रकम कुम्ल्याएर श्रेष्ठ फरार भए । ‘त्यसपछि मलाई जमानी बस्ने तँ होस् भनेर नवराज सिलवालले धम्की दिए,’ शम्भुले भने, ‘धम्कीपूर्ण भाषामा सिलवालले भनेपछि मैलै इमानदारीपूर्वक मेरो जग्गा बेचेर २०६७ असार ७ गते दुई करोड ११ लाख बुझाएँ ।’ त्यतिबेला शम्भुले सिलवाललाई भनेका थिए । ‘साँवा ब्याज जे भने पनि दुई करोड ११ लाख लिनुस् । हेनुस् (सिलवालकै हस्तलिखित पहिलो पाना) मैले लिएको पनि होइन, योभन्दा बढी तिर्न सक्दिनँ, अरु कुरा कोमल श्रेष्ठलाई नै भन्नुस् । मेरो जमानी राखेको जग्गा फिर्ता गरिदिनुस् ।’
६ महिना अवधिमा तीन करोड रुपैयाँ ऋणको थापाले सिलवाललाई चार करोड २५ लाख बुझाए । ‘०६७ असार ७ गते सिलवाल स्वयंलाई दुई करोड सावाँ फिर्ता गरेँ,’ उनले भनेका छन्, ‘बाँकी पैसाका लागि थप सम्पत्ति पास गरी दिनुपर्छ भनी दबाब गरेपछि पैसा चुक्ता गरेँ उप्रान्त फिर्ता गर्ने सर्तमा मकवानपुर जिल्लाको ज्यामिरे हाइवेमा पर्ने डेढ बिघा जमिन समेत पास गरिदिएँ ।’
jagga dhani patra
यति गर्दासम्म शम्भूको परिवारको बिल्लीपाठ हुने अवस्था नजिकिँदै थियो । कारोबारमा टसल आउन थाल्यो । उनीहरूबीच विवाद चुलिँदै गएपछि भनाभन समेत हुन थाल्यो । ‘मलाई चिनेको रैनछस् । अब हेर्दै जा म के–के गर्दै जान्छु । सम्पत्ति फिर्ता लिनका लागि ब्याजबापत अभैm तीन करोड ४० लाख दिनुपर्छ अन्यथा दिन्नँ, जानेको गर्,’ सिलवालले यसरी धम्काएपछि शम्भूले लख काटे, ‘विश्वासघात भयो ।’
सिलवालविरुद्ध आफूले बोले जे पनि हुन सक्ने धम्की आउन थालेपछि शम्भूको मुटु काम्न थाल्यो । ‘मविरुद्ध बोलिस् भने सम्पत्ति मात्र होइन अस्तित्व समेत समाप्त पारी दिन्छु भन्दै धम्क्याउन थाले,’ शम्भुले सिलवालले धम्क्याएको भाषा उल्लेख गर्दै लेखेका छन्, ‘जेलमा सडाउँछु चाहे जति रकम असुल गरेर देखाउँछु मैले भनेजस्तो नगरे तेरो सन्तानको पनि त्यही हालत हुनेछ ।’
शम्भुले आफूलाई भएको ज्यादती सार्वजनिक गर्न ०६९ भदौ २४ गते रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने तयारी गर्दै थिए । सिलवाल आफैँ रहेको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी टोली थापा बसेको होटल अगाडि पुग्यो । सिभिल ड्रेसको प्रहरीले थापालाई पक्राउ ग¥यो ।
‘लागू औषधजस्तो अवैध कारोबारीको आरोप लगाउने कोसिस मात्र गरेनन्, उनीविरुद्ध मसँग भएको प्रमाण, मेरा नामको दुई थान चेक र सक्कल नागरिकता समेत जफत गरे,’ उनले केही केही महिना अघि पत्रकार सम्मेलनका क्रममा सुनाएका थिए, ‘अनेक किसिमका धम्की दिने, खाली कागजमा सही गर्न बाध्य गर्नेे जस्ता कार्य गर्दै चरम यातना सहन विवश पारियो ।’ तर, एक पत्रिकामा तत्कालीन एसएसपी सिलवालले आफूले गुनबहादुर भनिने शम्भुलाई चिन्र्दै नचिनेको प्रतिक्रिया दिए ।
उनलाई १८ दिनसम्म थुनामा राखी रिहाइ गरियो । उनलाई रिहाइका लागि पनि सडकमा आन्दोलनको चुनौती दिनुपर्ने अवस्था आएको गुनबहादुरले बताएका थिए । ‘परिवारले विज्ञप्ति जारी गरी सडकमा उत्रिएर आन्दोलन गरेपछि मिडियाबाट यिनका विरुद्ध समाचार सार्वजनिक हुन थालेपछि । उप्रान्त कुनै पनि आरोपित कार्य नगर्ने वचनबद्धताका साथ बिनासर्त रिहा गर्ने कार्य भयो,’ उनले आफ्नो विज्ञप्तिमा भनेका थिए ।
को हुन् शम्भू ?
सिन्धुपाल्चोक ठूलो सिरुवारी– २ स्थित सामान्य परिवारमा जन्मिएका गुनबहादुर थापा शम्भू तत्कालीन क्षेत्री समाज सिन्धुपाल्चोकका अध्यक्ष थिए । समय क्रमसँगै उनीहरूको परिवार चितवनको भण्डारा– २ मा बसाइँ सरेको थियो । चितवनमा नै उनको व्यवसाय समेत थियो ।
यता, गुनबहादुर भने यतिबेला जेलमा छन् । उनलाई बैंकिङ कसुरमा हेटौंडा अदालतले जेल चलान गरेको हो । स्रोतका अनुसार उनलाई जेल चलान गर्न समेत डिआइजी सिलवालको प्रत्यक्ष भूमिका छ ।

यस्तो भेटियो अडियो प्रमाण
शम्भू र सिलवालबीच मोबाइलमा झन्डै ११ मिनेट कुराकानी भएको देखिन्छ । कुराकानीको क्रममा शम्भूले नवराजसँग सम्बन्ध गाँसेर आफू सडकमा र सिलवाल महलमा पुग्ने अवस्था आएको बताएका छन् । यद्यपि यो अडियोसहितको सिडी प्रहरी हेडक्वार्टरमा समेत पुगेको थियो । उक्त अडियोबारे प्रहरी हेडक्वार्टरले विवादास्पद निर्णय गरेको छ । यद्यपि उक्त अडियोमा स्वर भने शम्भू र सिलवालको स्पष्ट हुने गरी बुझिन्छ ।
यसअघि एक टेलिभिजनमा दिएकाे अन्तर्वार्ता हेर्नुहाेस् । अावाज छुट्याउनुहाेस् ।
नवराजको हस्तलिखित कागज
Nawa silwal Hand writing
स्रोतले दियोपोस्टलाई तत्कालिन एसएसपी नवराज सिलवालको हस्तलिखित कागजात समेत उपलब्ध गराएको छ । उक्त कागजातमा उनले आफ्नो हिसाब किताब उल्लेख गरेका छन् ।
डिआइजी सिलवालको फोन उठेन
यस विषयमा प्रतिक्रिया लिनको लागि हामीले डिआइजी नवराज सिलवालको मोबाइल नम्बरमा फोन गरेका थियौँ । तर, उनको मोबाइलमा फोन गर्दा फोन उठेन ।
Diyo Postबाट 

No comments:

Post a Comment