Saturday, 4 February 2017

तीन दलका शीर्ष नेताहरूको बैठक बस्नै छाड्यो


काठमाडौं, २२ माघ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरूको बैठक पछिल्लो समय संयुक्त रुपमा बस्न छाडेको छ ।

संविधान संशोधनको विधेयकले टाढिएका प्रमुख तीन दल बेला–बेला नजिक हुन खोजे पनि सम्बन्ध सुधार नहुँदा त्यसको प्रत्यक्ष प्रभाव मुलुकलाई पर्ने देखिन्छ । कांग्रेसले सहमतिको राजनीतिमा जोड दिए पनि पार्टीभित्रको आन्तरिक द्वन्द्वले खासै सहयोग पुग्न सकेको छैन ।

सतहमा नआएको कांग्रेसभित्रको आन्तरिक द्वन्द्वलाई माओवादी केन्द्रले थोरै भए पनि क्यास गर्न खोजेको छ । उसले सहमतिका नाममा निर्वाचनको मिति धकेल्ने र सत्ताको आयू केही भए पनि लम्बाउने पक्षमा छ ।

माओवादी केन्द्रका चाल बुझेका कांग्रेस नेताहरू पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई तर्साउन खोज्छन् । कांग्रेसका एक नेताले भने, ‘माओवादीको भरोसा छैन । त्यसैले हामी पनि सचेत छौँ ।’

उता, एमाले झन् कांग्रेस र माओवादीभित्रको आन्तरिक समस्याले फाइदा पुग्छ कि भनेर हेरिरहेको छ । निर्वाचनलाई केन्द्रमा राखेर संविधान संशोधनको विधेयकलाई विरोध गरिरहेको एमालेले जसरी हुन्छ अहिलेको गठबन्धन भत्काउने पक्षमा रहेको एकजना एमालेका पोलिट व्यूरो सदस्यले बताए ।

दलहरूको यही तिकडमले चैतभित्र स्थानीय चुनाव हुनेमा आशंका बढेर गएको छ । बरु प्रमुख दलका शीर्ष नेताहरू बसेर मुलुकलाई निकास दिनुपर्नेमा दोस्रो तहका नेताहरूको भनाइ पनि छ ।

No comments:

Post a Comment