Friday, 3 February 2017

पुनर्निर्माणमा उत्रियो नेपाली सेना, बिस्तृत कार्ययोजना तयार


काठमाडौं, २२ माघ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले शुक्रवारदेखी नेपाली सेनालाई डकर्मी तालिम दिन शुरु गरेको छ ।

नेपाली सेनाका दक्ष कालीगढलाई आज शुक्रवारदेखि एक सातासम्म भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिन थालिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका तर्फबाट करिब १४ जना प्राविधिक इन्जिनियरहरुले सेनाका २ सय जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिन शुरु गरेका हुन ।

तालिम सकेर सेनाका दक्ष जनशक्तिले फागुनको पहिलो सातादेखि भुकम्प प्रभावित जिल्ला रामेछाप, ओखलढुंगा र सिन्धुलीमा गएर स्थानीय बासिन्दालाई डकर्मी सम्बन्धी तालिम दिनुका साथै भुकम्प प्रतिरोधी घर निर्माणमा सहयोग गर्नेछन् ।

भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणका लागि प्राविधिक जनशक्तिको अभाव भएपछि प्राधिकरणले सुरक्षाकर्मीहरुलाई तालिम दिएर जिल्ला पठाउने योजना अघि सारेको हो ।

रक्षामन्त्री बालकृष्ण खाँडसहितका उच्च अधिकारी र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलसहितको टोलीबीच भएको बैठकले सेनालाई तालिम दिएर पुननिर्माणमा खटाउने सहमति गरेको थियो । प्राधिकरणले शसस्त्र प्रहरीलाई पनि तालिम दिएर पुननिर्माणको काममा जिल्ला खटाउने गरि आवश्यक गृहकार्य गरिरहेको छ ।

त्यसै गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापनाको पाँच बर्षे योजनाको खाका तथा प्राधिकरणको निर्देशक समितिको निर्देशन बमोजिमको समयसीमाबध्द कार्ययोजना समेत समावेश गरी पुरै अवधिको विस्तृत कार्ययोजना तयारी शुरु गरेको छ ।

माघ २० र २१ गते प्राधिकरणमा भएको कार्यशालामा पुनर्निर्माणसँग सम्बन्धित अधिकांश मन्त्रालयको सहभागिता थियो। उक्त विस्तृत कार्ययोजनाले पुनर्निर्माणको लागि चाहिने स्रोतको अनुमानयोग्यता बढाउने, कुनै दवाव र प्रभावले कार्यक्रम थपिने अवस्थाको अन्त्य हुने, तथा सरकारी निजी र साझेदार संस्थाको योगदान स्पष्ट हुने तथा पुनर्निर्माण र पुनर्स्थापनामा पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य लिइएको छ । सो कार्ययोजना आगामी आर्थिक बर्षको बजेट तर्जुमा अगावै तयार भैसक्नेछ

No comments:

Post a Comment