गणेश ठगुन्ना, डडेल्धुरा, माघ २१ । सुदूरपश्चिमका बिभिन्न जिल्लामा अत्यावश्यकीय औषधी अभाव रहेको खबर सञ्चार माध्यममा आईरहेको अवस्थामा डडेल्धुरामा भने औषधीको अभाव नरहेको जानकारी गराईएको छ ।
बिहीबार जिल्ला स्वास्थ्य कार्यालयले कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लामा अत्यावश्यकीय कुनै पनि औषधीको अभाव नरहेको जनाएको हो ।
कार्यक्रममा कार्यालयका प्रमुख बृष बहादुर शाहीले जिल्लाका लागि अत्यवश्यकीय ३५ थरीका औषधी, १५ थरीका सहायक सामग्री र ६ थरीका मानसिक औषधी गरी ६१ प्रकारका औषधी तथा सामग्री आवश्यक रहँदै आएकोमा अहिले ती मध्ये कुनै पनि औषधी अभाव नरहेको बताए । तर सीटामोल र भिटामिन बी कम्प्लेक्सको मौज्दात केही कम रहेको जानकारी दिए । यसको अभाव हुन नदिनको लागि औषधी खरिद प्रक्रिया अन्तिम चरणमा रहको बताएका छन् ।
३५ लाख बराबरका ३१ थरीका औषधी बोलपत्र मार्फत खरिद गरी स्टोरमा दाखिला भईसकेको जानकारी दिँदै कार्यालय प्रमुख शाहीले एक हप्ताभित्र सम्पूर्ण स्वास्थ्य संस्थामा पुग्ने बताएका छन् । साथै बोलपत्रबाट बचेको रकम र थप भएको नौँ लाख गरी ३० लाख रकम कार्यालयसँग औषधी खरिदका लागि रहेको जानकारी दिँदै तत्काल न्यून मौज्दात रहेका अत्यावस्यक औषधी सिधै खरिद गर्ने र बाँकी दरभाउपत्र मार्फत खरिद प्रक्रिया यसै हप्ता सुरु हुने समेत जानकारी दिएका छन् ।
जिल्लामा बार्षिक डेढ करोडको औषधी आवश्यक पर्ने गरेकोमा क्षेत्र र केन्द्रबाट समेत औषधी आपूर्ती हुने र त्यसले पनि नपुगेमा रकम थप गर्ने स्वास्थ्यमन्त्रीको घोषणाले जिल्लामा औषधी अभाव नहुनेमा आफु ढुक्क रहेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख शाहीले बताए ।
यस्तै कार्यक्रममै जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत दिपेन्द्र रावलले जिल्लाका पाँच स्थानमा स्वास्थ्य इकाई निर्माण गरी सञ्चालनमा ल्याउनको लागि स्वास्थ्य सेवा विभागमा माग सिफारिस गरिएको जानकारी दिए ।
स्वास्थ्य संस्थाबाट कम्तिमा एक घण्टा भन्दा टाढाको बस्तिमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य इकाई र नगरपालिकाका हरेक वडामा एक वटा नगर क्लिनिक हुनु पर्ने नेपाल सरकारको नीति अनुसार गाविस तथा नगरपालिकामा स्वास्थ्य इकाई सञ्चालनका लागि माग गरिएको उनले बताए ।
कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत रावलले रुपालको वडा नं. ८ र ९ को मध्य भागमा, चिपुर र भद्रपुरको भुलकुँडामा, समैजीको खतेडामा, बगरकोटको चुल्लमा र मणिलेकको बगरमा स्वास्थ्य इकाई सञ्चालनमा लागि प्रस्ताव गरिएको जानकारी दिएका छन् ।
परशुराम नगरपालिकाको मलास, सलेता, बस्यौटी र कटालमा नगर क्लिनक र आलिताल गाविसको खिन्नेभाडी र झरकाँडा, बेलापुरको चामा र मम्मे तथा देवलदिव्यपुरको राँजुलमा स्वास्थ्य इकाई सञ्चालनमा आई सकेको समेत उनले जानकारी दिए । तर यस्ता स्वास्थ्य इकाई तथा नगर क्लिनिकमा विभागबाट कार्यक्रम समावेश नगरिएमा निरन्तरतामा भने चुनौती रहेको कार्यक्रममा जिलला स्वास्थ्य कार्यालयका प्रमुख शाहीले बताए ।
स्वास्थ्य इकाई र नगर क्लिनिकबाट आधारभूत स्वास्थ्य उपचारका साथसाथै खोप सेवा, परिवार नियोजन सेवा, गर्भ जाँच सेवा लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरिन्छ ।
No comments:
Post a Comment