काठमाडौँ–
साँघुरा र अध्याँरा कोठा। सिकिस्त बिरामीको उपचारका लागि आइसियु छैन। अस्पताल वरिपरि फोहोरको व्यवस्थापन नाजुक छ। भवनको भित्ता र भुइँ उस्तै फोहार। यो दुरावस्था हो नेपालकै एक मात्र सरुवारोग अस्पतालको।
तर, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको यो अवस्थामा भने अब परिवर्तन आउने भएको छ। छिट्टै अस्पताल सुविधा सम्पन्न र आधुनिक बन्ने भएको छ। ८३ वर्ष पुरानो उक्त अस्पतालले नयाँ भवन निर्माण गरी सेवा विस्तार गर्न लागेको हो। यसका लागि अस्पतालले करिब १४ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न आधुनिक सात तले भवन निर्माण गर्दै छ।
सरुवारोग अस्पतालको प्रस्तावित भवन
अस्पताल विकास गुरुयोजना अन्तर्गत भवनको डिजाइन निर्माणको कामसम्पन्न भइसकेको छ। सात तले उक्त भवनमा भूमिगत पार्किङ समेत हुनेछ। भवन निर्माणका लागि आवश्यक तयारी पूरा गरेको अस्पतालले उक्त गुरुयोजना स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी गरेको छ।
अस्पतालका निर्देशक डा. रमेश खरेलका अनुसार स्वास्थ्य मन्त्रालयबाट गुरुयोजना पास भएर भवनका लागि बजेट आउने बित्तिकै निर्माणको काम अगाडि बढ्नेछ। उनका अनुसार उक्त भवन निर्माणका लागि ५६ करोड ९८ लाख ३२ हजार रुपैयाँ लागत लाग्नेछ।
नयाँ बन्ने भवनमा सरुवारोग अस्पतालका लागि आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा र पूर्वाधारहरु रहनेछन्। नयाँ भवन हाल अस्पताल रहेको पुरानो भवनको ठिक पछाडिपट्टि बन्नेछ ।
पहिलो चरणमा एक सय ५० शैय्याको अस्पताल चलाउने र दोस्रो चरणमा एक सय ५० शैय्या थपेर अस्पताल तीन सय शैय्याको हुनेछ।
डा. खरेलका अनुसार नयाँ बन्ने भवनको भुइँ तलामा आकस्मिक कक्ष र रेबिजका बिरामीको उपचार कक्ष हुनेछ।
पहिलो तल्लामा जेरियाट्रिक (जेष्ठ नागरिक), ग्यास्ट्रो र विफर वार्ड, दोस्रोमा इन्टरनल मेडिसिन, पेडियाट्रिक र नवजीवन वार्ड, तेस्रोमा टिटानस, सिंगल क्याविन, आइसियू, एचसियू, चौथो तलामा जेनरल सर्जरी वार्ड, अप्रेसन थिएटर, रिकभरी कक्ष, पाँचौँ तलामा आइसोलेसन वार्ड, ग्रिन ए र बि, टिबी कक्ष हुनेछ। बाँकी तल्लामा भने प्रशासनिक लगायत अन्य विभाग रहनेछन्।
उक्त भवन निर्माणका लागि दुईदेखि तीन वर्ष लाग्ने डा. खरेलले जानकारी दिए। हाल एक सय शैय्या मात्र रहेको अस्पतालमा सम्पूर्ण सरुवारोगको उपचार सेवा उपलब्ध छ।कर्णाली न्यूज।।
Sunday 5 February 2017
यस्तो बन्दै छ नेपालको एक मात्र सरुवारोग अस्पताल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment