Monday, 30 January 2017

मिडियालाई प्रधानमन्त्रीको अपिलः ‘संविधान कार्यान्वयनमा भूमिका खेलौं’

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ ।

नेपाल टेलिभिजन (एनटिभी) को ३२ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले संविधानको संशोधनसँगै स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजनामा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।

“हामी संविधान कार्यान्वयनको अत्यन्त महत्वपूर्ण चरणमा छौँ, संविधानप्रतिको स्वीकार्यतालाई बढाउन संशोधनको प्रक्रिया अगाडि बढाइएको छ, संविधान कार्यान्वयनसँगै सिङ्गो मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ”–उहाँले भन्नुभयो ।

उहाँले २०४१ सालमा परियोजनाको रूपमा स्थापित भई २०४२ सालबाट नियमित प्रसारण सुरू गरेको नेपाल टेलिभिजनले अबका दिनमा सरकार र जनताबीचको पुलको रूपमा काम गर्दै जाने विश्वास गर्नुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सञ्चारमाध्यमको निष्पक्षता, सम्पादकीय स्वतन्त्रताको राज्यले सधैँ सम्मान गर्दै आएको समेत प्रस्ट पार्नुभयो ।

नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरको शुभारम्भ गर्दै उहाँले आमजनतालाई सूचना तथा जानकारी उपलब्ध गराउने सन्दर्भमा नेपाल टेलिभिजनले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

त्यसैगरी टेलिभिजन डिजिटललाइजेसनको शुभारम्भ गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले डिजिटलाइजनसँगै नेपाल टेलिभिजनको गुणस्तरीयतामा समेत विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सहर केन्द्रितभन्दा पनि ग्रामीण क्षेत्रका विशेषगरी उत्पीडित समुदायका सवाललाई आम सञ्चारमाध्यमले उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले नेपाल टेलिभिजनले व्यावसायिक प्रतिस्प्रर्धासँगै दुरदराजका मानिसका अनुहारलाई टिभीसम्म ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार सचिव महेन्द्रमान गुरूङले आमसञ्चार नीति २०७३ को आधारमा सञ्चार मन्त्रालयले सरकार मातहतका सञ्चार माध्यमको नीति बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष महेश दाहाल र नेपाल पत्रकार महासङ्घ, टेलिभिजन शाखाका अध्यक्ष शालिक सुवेदीले कर्मचारीको वृद्धि विकासमा जोड दिनुभयो ।

वार्षिकोत्सवको अवसरमा टेलिभिजनमा ३० वर्ष अवधि पूरा गरेका १२ जना कर्मचारीलाई स्वर्णपदक र २० वर्ष सेवा अवधि पूरा गरेका २६ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको छ ।

त्यसैगरी टेलिभिजनका कार्यरत भरत शर्मा (पाल्पा), विधुर खवास (धनकुटा), हिरालाल चौधरी (सिराहा), मन्दिरा थापा (दोलखा) र शिव सिल्वाल (धादिङ) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ । रासस

No comments:

Post a Comment