काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको मिति घोषणा गरेर संविधान कार्यान्वयनमा जाने बताए पनि अझै केही साताअघि निर्वाचनको मिति घोषणा हुने कुनै छनक छैन ।
प्रधानमन्त्री दाहालले दुईसाता अगाडि माघ १५ गतेभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । त्यति मात्रै होइन प्रधानमन्त्री दाहालले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच बालुवाटारमा भएको पछिल्लो वार्ताका क्रममा पनि माघ १५ गतेभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
तर, माघ १५ गते पनि सकिनै लाग्दासमेत प्रधानमन्त्रीले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने कुनै संकेत समेत दिएका छैनन् । बरु कानूनमन्त्री अजय शंकर नायकले बोलेकका कुरा सबै समयमा पूरा हुँदैनन् भनेर कडा टिप्पणी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूले सबै राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर चुनाव घोषणा गर्ने भन्नु भएको हो । यसलाई अन्यथा लिनु पर्ने अवस्था छैन ।’
संविधान संशोधनबिना हुने स्थानीय निर्वाचन मधेसी मोर्चाले बहिष्कार गर्न सक्ने भन्दै कानूनमन्त्री नायकले भने, ‘मधेसी मोर्चाबिना स्थानीय निर्वाचन गर्नु हुँदैन । बरु केही समय ढिला भएर केही हुँदैन ।’
एमालेका स्थायी समिति सदस्य केशव बडालले प्रधानमन्त्रीले दाहालले माघ १५ गते स्थानीय चुनाव घोषणा गर्छु भनेर जनतालाई झुक्याएको आरोप लगाए । उनले भने, ‘माघ १५ गते कट्न थालिसक्यो । प्रधानमन्त्रीले स्थानीय चुनाव घोषणा गर्छु भनेको बाचा कता पुग्यो ?’ एमालेका नेता बडालले भने, ‘स्थानीय चुनाव गर्न प्रधानमन्त्री चाहँदैनन् । उनी असफल भइसकेका छन् ।’
कांग्रेसले पनि स्थानीय निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिँदै आएको छ । तर, प्रधानमन्त्रीले चुनावको मिति घोषणा गर्न आनाकानी गरिरहेका छन् । चुनावको मिति घोषणा गर्न उनलाई किन समस्या परेको हो भित्री कुरा बाहिर आउन सकेको छैन ।
No comments:
Post a Comment