नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकारीको रुपमा कुलमान घिसिङ नियुक्त भएपछि वर्षौँदेखि काठमाडौंबासीले खेपिरहेको लोडसेडिङ अन्त्य भएको छ।
जेनेरेटर तथा इन्भर्टरका लागि बाहिरिने अरबौं रकम यसबाट जोगिने छ। भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/७३ मा मात्र नेपालमा ३ अर्ब २५ करोड ६८ लाख रुपैयाँको विद्युतीय जेनेरेटर आयात भएको छ।
त्यस्तै १२ लाख २५ हजारको इन्भर्टर आयात भएको छ। यी बाहेक नेपालमा डिसी बल्ब, डिसी ब्याट्री, लाइट, पावर बैंक आदी पनि लोडसेडिङकै कारण निकै ठूलो रकममा भित्रने गरेको थियो।
व्यवसायीहरुले लोडसेडिङ यस पटक पनि हुने अनुमानका बीच यस आर्थिक वर्षको ६ महिनामा २ अर्ब ७४ लाख रुपैयाँको जेनेरेटर आयात गरेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।
विभागका तथ्याङ्क शाखा निर्देशक विनोद आचार्यका अनुसार पहिले नै व्यापारीले सामान अर्डर गर्ने र आयात हुँदा केही ढिला हुने भएकाले पनि यो वर्षको ६ महिनामा ठूलो आयात तथ्याङ्कमा देखिएको हो। उनले भने ‘अब व्यापारीले अर्डर गर्दैनन् वा कम गर्छन्, यसले अर्को वर्षमा मात्रै तथ्याङ्कमा प्रभाव पर्छ।’
व्यपारीहरुले पुस/माघको जाडोका लागि आफैले अनुमान गरेर ४/५ महिनाअघि नै भुक्तानी दिई जेनेरेटर तथा इन्भर्टर अर्डर गर्ने गरेका छन्। आगामी दिनहरुमा यति ठूलो परिमाणमा जेनेरेटर र इन्भर्टर आयात हुने संभावना नरहेको उनले बताए।
आयात भइसकेको जेनेरेटर तथा इन्भर्टर पनि अहिले बिक्न छोडेको छ। व्यवसायीहरुका अनुसार अहिले जेनेरेटर र इन्भर्टर बिक्री नभएर थन्किरहेको छ।
कतिपय व्यवसायीहरु अर्डर भएर आइसकेको सामान बिक्री नहुँदा चिन्तित समेत देखिन्छन्। लोडसेडिङको अन्त्यले आफ्नो करिब १५ लाखको सामान फँसेको महाबौद्धका व्यापारी सन्जिव रौनियारले गुनासो गरे।
अपत्यारिलो पारामा लोडसेडिङ अन्त्य हुँदा आफू खुसी भए पनि नेपाल भित्रिसकेका सामान नबिक्दा व्यवसायिक रुपमा घाटा भएको उनले बताए। उनले भने ‘सरकारले बिना पूर्वजानकारी अचानक लोडसेडिङ हटायो, यसले गर्दा भित्रिसकेका धेरै सामानहरु कवाडीजस्तै बनेका छन्।’
आफूहरुले भित्र्याएका सामान सरकारले नै किन्दिनुपर्ने वा फिर्ता गरिदिनुपर्ने उनको माग छ।
‘लोडसेडिङ अन्त्य हुने कुरा अपत्यारिलो थियो, त्यसकारण हामीले धेरै सामान भित्र्यायौँ महाबौद्धस्थित पन्चकन्या माई ट्रेडर्सका संचालक बैकुण्ठ रेग्मीले भने ‘ठूलो रुपमा आर्थिक क्षति व्यहोर्नुपर्यो, यद्यपी लोडसेडिङ हट्नु भनेको खुसीको कुरा हो।’
लोडसेडिङ हटेपछि आफूले भित्र्याएका डिसी बल्ब, पावर बैंक, डिसी कनेक्टर ज्याक आदी नगन्य रुपमा मात्र बिकेको रेग्मीको भनाई छ। ‘ब्यापारीको पैसा डुब्नु भनेको देशकै पैसा डुब्नु हो त्यसैले सरकारले यसको पनि राहत दिनेगरी केही उपाय निकाल्नु पर्छ’ उनले भने।
लोडसेडिङ हटेपछि नेपाल भित्रिएका ब्याट्रीजन्य सामानको बिक्रीमा केही कमी आएपनि सर्वस्व डुब्नेगरी कसैलाई पनि घाटा नभएको हिमालय सिमापार वाणिज्य महासंघका अध्यक्ष विष्णु बहादुर खत्रीको दावी छ।
‘व्यापारीहरुले पनि ग्राहकको अर्डर अनुसार सामान ल्याउने हो घाटा भएनि सबैलाई थोरै–थोरै भएको छ, तर लोडसेडिङको अन्त्यले पछि अन्य इलेक्ट्रोनिक्स सामानको बिक्री बढ्छ, यसले फाइदा हुने व्यापारीलाई नै हो’ उनले भने।
लोडसेडिङको अन्त्यले केही ब्यापारीहरुलाई नोक्सान भएपनि समग्र नेपाल र नेपालीहरुलाई भने निकै फाइदा पुगेको उनले बताए। यकीन तथ्याङ्क नभए पनि नेपालबाट बाहिरीने अर्बौ रकम बच्ने अध्यक्ष खत्रीले बताए।
लोडसेडिङ हटेपछि यस्ता कृतिम विद्युत उत्पादन गर्ने उपकरणको आयातमा कमी आउने भन्सार बिभागका तथ्याङ्क शाखा निर्देशक आचार्यको भनाई छ। यो जोगिएको रकमलाई विद्युतका आयोजनाहरुमै लगाउन सकेमा मुलुकले निर्यातमार्फत आम्दानी समेत गर्न सक्ने थियो।
Seto Pati
No comments:
Post a Comment