विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यतिबेला चर्चाको शिखरमा छन् । काठमाडौं र पोखरा जस्ता ठुला सहरमा वर्षौंदेखिको अँध्यारो फालेर सेलिब्रेटी भएका कुलमानलाई आइतबार जन्मथलो रामेछापको गाउँमा अभिनन्दन गरीएको छ ।
बेथानको डहु गाउँमा उनी जन्मे, कखरा सिकेर हुर्के । त्यहि धुलोमा आइतबार उनै सेलिब्रेटी कुलमानको भव्य अभिनन्दन भयो । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि पहिलो पटक आफ्नो गाउँमा पुगेका कुलमान आफन्त र इष्टमित्रबाट लगाइएको खादाले पुरीए ।
त्यसैपनि बेथानको डहुमा ल्होसारको रौनक थियो । झन् कुलमान पुगेका । देशका अरु सबैलाई ओझेलमा पारेर चर्चा कमाएका कुलमान पुगेपछि के चाहिन्थ्यो । भटाभटी झोलाबाट खादा झिक्ने र लगाइदिने लाइनै भए । डहुकै बुढापाका प्रतापसिं तामाङले खादा ओडाएर अभिनन्दन सुरु गरे । उनी डहु माविका संस्थापक सदस्य हुन् । गाउँकै विद्यालयमा कखरा सिकेका युवा चर्चाको शिखर चढेको खुसीयालीमा उनलाई अभिनन्दन गर्न प्रतापसिं सकिनसकी कार्यक्रममा पुगेका थिए ।
कुलमान पढेको विद्यालय डहु माविले आधुनिक विश्वलाइ जोड्न इन्टरनेट सेवाको सुरु गरेको अवसरमा कुलमान मुख्य अतिथि बनेका थिए । उनले इन्टरनेट अनि सिसीटिभीको शुभारम्भ गरे । विद्यालयलाई आधुनिक विश्वसँग जोडाएपछि कुलमानले विगतका दिन सम्झे । भवन, डेक्सबेन्च, चकडस्टर लगाएतको सुविधा नहुँदा बडो दु:खले साावा अक्षर तिखारेको त्यहि स्कुल आज विश्वसँग जोडिएकोमा उनले प्रसन्नता पोखे । विद्यालयका प्रअ दलबहादुर लामाका अनुसार विद्यालयमा २२ वटा कम्प्युटरमा इन्टरनेट सुविधा पुगेको छ ।
कार्यक्रम विद्यालयको भएपनि कुलमानले बिजुलीका कुरा जोड्न छोडेनन् । कुलमानको चिन्ता बिजुली बत्ति पुगेको स्थानमा लोडसेडिङ हटाउँदाको खुसीमा भन्दा सधैं अँध्यारोमा बस्ने नागरिकलाई कसरी उज्यालोमा ल्याउने भन्नेमा थियो । ‘धेरै नागरिक अझै लोडसेडिङको मारमा छन्,’ कुलमानले भने, ‘अँध्यारोमा बस्नेलाई बत्ति दिनु मेरो प्रमुख कार्य हुनेछ ।’
रामेछाप भएपनि बेथानमा आउने बिजुली सिन्धुपाल्चोकको पाखर हुँदै पुग्छ । लामो लाइन भएकाले झ्याप्प झ्याप्प बत्ति जाने रोग बेथानमा पुरानै हो । गाउँलेले कुलमान आएपछि यो समस्या राख्न पछि पर्ने कुरै भएन । सबैले एकैमुखले भने– ‘बत्ति गाकोगाकै गर्छ ।’
त्यसलाई कुलमानले धेरै महत्व दिएनन् । लामो लाइनमा केही बेर बत्ति जानु भनेको आन्तरिक व्यवस्थापनको कमजोरी हो त्यसलाई सुधार गर्दै जाने सोच छ उनले त्यति मात्र भने ।
No comments:
Post a Comment