कुराकानीका क्रममा भर्खर स्थानीय थिएटरमा मा देखाइएको बहुहल्लित सिनेमा छक्का-पन्जा हेरेकाले कुरा झिके। हँसाउनु हँसाउछ…राम्रो रछ, ठिकै हो…, नेपाली सिनेमा यस्तैउस्तै त हो नि तानतुन नौटंकी, अमिर खानले हेर्नुस त कति डुबेर, कति तयारी र लगन गरेर समाजको बृहतर मुद्दामा फिल्म बनाउँछ…हाम्रा त जस्तै धुमधाम भने पनि यसो ओठ खोलेर फिस्स हाँस्यो सिनेमा हेरेर निस्किसक्दा फासफुस…, यतिको त जहिले हेरेकै हो नि जिरे खोर्सानी, हर्के हल्दार, मेरी बास्सैमा के के न होला भनेर हेर्न गइयो बेकार…यस्तै गफ निस्किए त्यहाँ।
“तपाईंले पोहोर लेख्नु भएको “अरबेकी स्वास्नी” कथाको कुरा नै छ यसमा पनि। त्यो कथा मलाई खुब मन परेको थियो, छक्का-पन्जा पनि त्यही बिषयमा रहेछ” सिनेमा हेरेका एकजना मित्रले भने।
डेढ वर्षअघि म नेपाल जाँदा बदलिएको गाउँ-समाजका चरित्र नियाल्न पाएको थिएँ मैले। रेमिट्यान्स खेतिले समाज परिवारमा ल्याएको चलन बिचलन हेर्न र सुन्न पाएको थिएँ मैले। त्यो स्थितिलाई आधार पारेर मैले यता क्यानडा फर्केपछि एउटा कथा लेखेको थिएँ “अरबेकी स्वास्नी” शीर्षकमा। पहिलो पोष्ट डट कममा त्यो छापिएको थियो सोरको एप्रिल महिनामा। अहिले पनि मेरो फेसबुकको वालमा त्यसको लिंक पाइन्छ अलि तलसम्म हेर्दै जाँदा।
म नेपाली सिनेमा हेर्ने लगाव भएको मान्छे हुँ। साइनो चलचित्रबाट नेपाली सिनेमा हेर्न थालेको हुँ मैले। त्यसपछि तुलशी घिमिरेको दर्पणछाँयासम्मका सबैजसो सिनेमा हेरियो। कति त दोहोर्याई तेहर्याई पनि हेरियो। कुनै छनौट र रुचीका मापदण्ड बनाउने खुबी नहुन्जेल जे जति बने सबै हेरिन्थ्यो। बिस्तारै बिषयबस्तु छानेर, पर्खेर, समीक्षा पढेर र को निर्देशक र को कलाकार भन्ने ख्याल गरेर मात्रै सिनेमा हेर्न थालियो। सिनेमा हेर्दै नहेरी बात लाउने दर्शकको कोटीमा नपरूं भनेर म बीचबीचमा नेपाली सिनेमा हेर्न हलसम्म गई नै रहें सधैं। नविन सुब्बाको नुमाफुंग, शिव श्रेष्ठ र करिश्माको ‘पंक्षी’, अमृत लामाको ‘मृत्युदाता’, महको ‘हाँसि देऊ एक फेर’ भुषण दाहालको ‘कागबेनी’ आदि हेर्दै नै रहें हलमा गईगई। पछिल्लो कालमा सफल बनेको लुट, चपली हाइट हेरें। साथी म तिम्रो, लोफ़र, झोले, कबड्डी, कबड्डीकबड्डी पनि हेरें। अर्थात् केही राम्रो आउला नेपाली सिनेमा भनेर चासो र रुचिले पर्खिरहने र छानेर हेर्ने दर्शक प्रकार हुँ म पनि अहिलेको स्थितिमा।
एकपल्ट लिलबहादुर क्षेत्रीको ‘बसाइँ’ मा बनेको सुबास गजुरेलले निर्देशन गरेको सिनेमा हेर्न हलमा छिरें। क्याम्पसको कोर्समा पढेको दमदार कृतिमा दमदार सिनेमा बनेको होला भनेर धेरै आशा गरेर गएँ। सिनेमा यति गैबार बनेछ त्यति राम्रो कथामा कि हेर्न थालेपछि मध्यान्तरसम्म नि टिक्न नसकेर छोडेर हिंडे। अभिनय, संवाद, प्रश्तुति, पात्र र परिवेश जम्मै थोकलाई यति कृतिम र फितलो पाराले उतारिएछ कि त्यो भन्दा झुर हुने ठाउँ नै देखिन मैले त्यो बसाइँमा। यस्तो लाग्यो बसाइँका निर्देशकलाई कालले २४ घण्टाको टाइम दिएर हतारहतार सिनेमा सक्न लगाएछ र मर्नुअघि त्यसलाई सक्नै पर्ने भएर झारा टारेछन् उनले।
मेरो यो लेख एउटा दर्शकका आँखा र दिमागले बुझेको सिनेमाका कुरा मात्र हो। सिनेमा पढेको वा सिनेमाशाश्त्रको विद्यार्थी भएर यो लेख्या होइन। जसलाई सिनेमाको ‘स’ थाहा छैन ऊ चाहिं बडो समिक्षक भन्ने कुरा आइहाल्ला। अहिले मान्छे खुइल्याउन र सकेसम्म असहिष्णु हुनलाई सामाजिक संजाल छंदैछन् मनलाग्दो बोले भैगो। म भन्छु, कोट राम्रो छ कि छैन भन्न सुचिकार नै हुनु पर्दैन, कोटको पारखी उपभोक्ता भए पुग्छ।
हामीकहाँ हाँस्य यति जबर्जस्त बेचिने कुरा हो कि महा-भूकम्प लगतै घरबार सकिएर आलसतालस भएका गरिबदुखी नेपालीहरुका धुलो उडेका गाउँगाउँ गएर हाँस्यखेतिका मान्छेले अब हाँस्नु पर्छ भनेर हँसाउन भ्याए बहतर साल जेठ असारहुँदो। के निहुँ पाऊँ कनिका बुकाऊँ मार्काका डलरखेतिवाला एनजीओ आइएनजीओले लगानी गरे हाँस्य थेरापीले भूकम्पको मार कम गर्न। कलाकारले एक भेल छोपे र फर्किए।
दारी पाक्या बुढापाकालाई तरुनी देख्दा र्याल काढ्दै कातिके कुकुर जस्तो पछि लाउनु, जन्मैले शारीरिक वा मानसिक खोट लिएर जन्मिएका मानवलाई जोक, खिसिट्युरी, हाँसो र मजाकमा उडाउनु र तिनको सामाजिक अपमान गर्नु, घर-गृहस्थका मुखाले स्वभाव र धन्धुकारी चरित्रका मान्छेलाई मलजल प्रदान गर्नु, नेपाली भाषाको क्षेत्रिय र अन्य जातिको लवजलाई उडाएर मनोरन्जन गर्नु, लोग्नेस्वास्नीबीचको सम्बन्धलाई सधैंको किचकिच र खेलाँचीमा देखाउनु, बिबाहेत्तर बाह्य लसपसमा लाग्नुलाई सामान्य रुपमा सधैं र सबैजसोलेले मसला बनाउनु, महिलाको शरीरलाई भद्दा, कलाविहीन र असोभनीय हिसाबले देखाएर मजाक उठाउनु, जालझेल, धोकाधडी, ढाँटछललाई मान्छेको दिनचर्याको रुपमा प्रश्तुत गर्नु, छिल्लिएका कुरा गर्नु आदि हाम्रो हाँस्यखेतिका नाममा मौलाएका बालीनाली हुन्।
किन हिट भए त यस्ता हाँस्यलीला नेपालमा त्यसो भए ? कारण सजिलो छ। पहिलो कुरा यी सबैजसो हाँस्य दिनभरि काम गरेर थाकेर घर छिरेका नेपालीले भात खाएर सुस्ताउने बेलामा सोफा र सिकुवाको अघिल्तिरको बोल्ने बाकसमा आए। दोश्रो गाउँ नै गाउँको जीवनशैलीको बाहुल्यता भएको नेपालमा यिनले उट्पट्यांगपूर्ण तमासाको बिक्री गर्न गाउँघरको भाषा, पात्र, परिबेस र मरमसला प्रयोग गरे। तेश्रो हाँस्य गाउँ वा सहर जुनसुकै परिबेसको भएपनि मान्छेको हाँस्य रसलाई फगत हाँस्यले अपिल गर्छ, सन्देस खोजिराख्दैन हाँस्न तयार भएर बसेको मान्छे। पहिले हाँस्छ अनि सोच्नु परे पछि सोच्छ र अर्को हाँस्ने दिन आउदावर्दा हाँस्न बितिसक्या हुन्छ सोच्न बिर्सिसक्छ। यसरी नेपाली जनता मन्त्रमुग्ध भएर २/४ बर्ष हाँसे अनबरतरुपले टिभीका अघिल्तिर बसेर र यसका खेलाडीहरु हिट भए। हिट भएर के बिग्रियो त ? अहिले भन्न थालिएको देसको सार्भभौमिकतानै खल्बलिने गरी त केही बिग्रिएन। तर, हाम्रा सामाज परिवारले थेतरो, मुखाले, लबस्तरो, धन्धुकारी, अर्काको धज्जी उडाउने, अपांगता भएकामाथि रमाइलो गर्ने, छलछामका बाह्र सत्ताईस कुरा गर्ने, उमेरै नपुगी जाँड खाएर रमाइलो गर्ने, केटी जिस्क्याउने आदि गुणकौशल हाँस्यका नाममा हेरेर मन्दमन्द हिसाबले सिक्न पाए। कि टिभीमा देखाइएका कुराको कुनै असर हुँदैन मान्छेको मगज र ब्याबहारमा भन्नु पर्यो र “दोश्रो बच्चा कहिले पहिलो स्कुल जान्छ जहिले” भन्ने मार्काका सरकारी वा निजी सन्देस पनि बन्द गर्नु पर्यो। होइन भने यस्ता कुराले मान्छेका ब्यबहार आचरणमा नकारात्मक असर पनि पर्छ भनेर मान्नु पर्यो।
के समाज बनाउने, अनुसाशन सिकाउने, मान्छेलाई बुद्धत्व दिलाउने ठेक्का कलाकारको हो त ? जसो गर्दा घरमा दालरोटी पाक्छ त्यसो गरिन्छ नि ! हाँस्य कलाकारले तर्क गर्ने छन्। तँ समिक्षकले केके खालो सारेको छस् लु देखा त ? तर्क यस्तो पनि हुनेछ। कुनै कलाकारले, चित्रकारले, साहित्यकारले, लेखकले समाज सुधार्ने ठेक्का लिएको हुँदैन नै। बोल्दा, लेख्दा, समिक्षा गर्दा, कलाकारिता गर्नेले आफुले जानेको गर्दा सोरै कल्पनामा मात्रै गर्ने होइन। आफ्नो कलाकारितामा, लेखाइमा समाजलाई सकेसम्म नजिकबाट छामेर गर्न खोज्ने हो। लेख्नेले देखेको लेख्ने हो। कला, साहित्यको उपभोग समाजको उपयोगिताको दृष्टिकोणबाट पनि हेरिन्छ बुझिन्छ र ग्रहण गरिन्छ भन्ने कुरालाई बुझेर बुझेजस्तो गर्ने हो। बुझ पचाएजस्तो गर्ने होइन।
फेरि छ छक्का-पन्जामै आऊँ। यस पहिले यही टिमको ‘छ एकान छ’ सहरमा प्रदर्शन हुँदा डलर तिरेर हेरेपछि मलाई लागेको थियो- नेपालमा टेलिभिजनबाट साप्ताहिकरुपले देखाइने हाँस्य टेलिशृंखला नामका ताइ न तुइका उट्पट्यांगे लीलाको चमक कम हुदै गएपछि तिनै खेलाडीहरुको भीड जम्मा पारेर ठुलो पर्दाको चलचित्रका नाममा त्यस्तै उट्पट्यांगे लीला गरेर दर्शकलाई अरु दुईचार बर्ष झुलाउने घुमाउरो बाटो पक्डेर रुप्याँ कमाउने दाउ रहेछ यिनको। बेकारको चलचित्र हेर्न आइएछ।
दिपक र दीपाले के नै पो बनाए होला र फेरि, हेर्दिन छक्क-पन्जा भन्ने थियो। उता नेपालमा यो छक्का-पन्जा ऐतिहासिक माथि ऐतिहासिक भएको समाचार र टिप्पणी उर्ली नै रहेको थियो। झन्डै एक वर्ष पहिले आफैंले लेखेको कथासँग मिल्दोजुल्दो मान्छेले भन्दिएपछि हेर्नु पो पर्ला कि छक्का-पन्जा भन्ने लाग्या थियो।
छोरी र श्रीमती छक्का-पन्जा हेर्न गए। छ महिने कान्छी छोरीको हेरचाह गरेर घर बसें। फर्केर आएपछि दुबैले खुब सिफारिस गरे हेर्नलाई।
किन हेर्नु त, के छ त्यस्तो ? मेरो प्रश्न।
‘फरक छ, बेग्लै छ, हाँस्न मज्जाले पाइन्छ। कथामा खुब टुइस्ट एण्ड टर्न छ’ श्रीमतीले भनिन्।
‘कथा चैं के छ त?’
‘कथा त उही हो- अर्थ न बर्थ केही नखुलाई पोइल जाने, जाँड खाने, स्वास्नीलाई हेप्ने, बिहे गर्न केटी नपाउने बुङ्गाको नाटक, हुलहुज्जत गर्ने लठैतहरुको डफ्फा…यस्तै उस्तै…हजुरले खोज्ने अमिर खान र सत्यजीत रे टाइप त कहाँ हुन्छन् त सबै’ छोरीकी आमाले बखानी।
छोरी त उसै प्रफुल्ल थिई। उसको त मेरो ‘साइनो’ फिल्मकालीन रुचि र रौसको उमेर छ उसै राम्रो सबै।
अर्कोपल्ट फेरी देखाइने भयो छक्का-पन्जा सहरमा। विदेशको ठाउँ समय मिलेन म जान पाइन।
अति नै चर्चा भएपछि र त्यही सिनेमाको निहुँमा कृष्ण सुबेदीको ज्यानै गएको भनिएपछि फिल्म हेरें मैले पनि।
अहिले हाम्रो सिनेमामा एउटा थिमले खुब घर गरेको छ। त्यो के भने बिहे गर्ने उमेर छिप्पेका बेकारी जवानहरुको एउटा हुल बाँध्ने, एउटालाई नाइके बनाउने र अरुलाई त्यसको आदेस पालक बनाउने, तिनका बाबुआमालाई बुहारी खोज्ने टन्टामा देखाउने, केटालाई एउटा भट्भटे भिडाई दिने र दिनभरि केटी, पैसा र जाँडको खोजीमा लगाइदिने, उभिएर पिसाब गरेको र छाडा बोलेको देखाउने र सस्तो हल्काफुल्का कथाबस्तुलाई अस्वाभाविक ढङ्गले फिल्मीकरण गरेर नयाँ, बेग्लै, छुट्टै, अलग्गै, भिन्नै बनाएको छु भनेर मिडियामा सबै पावर पहुँच भिडाएर झ्याली पिट्ने। छक्का-पन्जामा पनि यही रहेछ। एउटा एनआरएनकी स्वास्नीलाई एउटा सामन्तको छोराले पेट बोकाएको एउटा झिनो कथाको त्यान्द्रोमा अडिएको रहेछ पुरै फिल्म। बाँकी सबै जिरे खोर्सानी, मेरी बास्सै, भद्रगोल, हर्के हल्दार स्तरको हाँसोमात्रै। न एनआरएन जीवनका अरु कुनै जीवन भोगाइको पाटोको मिहिनता होस्, न उसकी पोइल जाने स्वास्नीबारे कुनै बृहतर चरित्रचित्रण र मनोगति स्थापित होस्।
एउटा सामन्ती परिवारमा जन्मेको केटाको बिहे गर्ने र नगर्ने सतही सनकका पछिपछि कुदेर दर्शकले अढाई घण्टा बिताउनु पर्छ फिल्ममा। राजा भएका दिपक र उनकी आमाले बोल्ने सेती अन्चलको बझांगी नेपाली लवज पनि पर्याप्त होमवर्क र रिसर्च नपुगेर त्यो लवजमा बोल्ने नेपालीभाषीलाई खिसी गरेजस्तो मात्रै लाग्छ। देखासिकीमा फिल्म बनाउनेले यसो गर्छन्। साच्चिकै दर्शकको बिबेक र परखको सम्मान गर्ने, प्रतिभाले नै फिल्म बनाउने र आफ्नो पेसालाई दर्शकप्रति उतरदायी बनाउन भित्रैदेखि इमान्दार र सजग आमिर खानहरु कथाको पात्रले भोजपुरी भाषा माग्यो भने महिनौ लाएर पहिले भोजपुरी सिक्छन् पिके बनाउछन् र हरियाणाको हिन्दी लवज माग्यो भने त्यसलाई प्राकृतिक स्तरको बनाउन मरिमेटेर दंगल बनाउछन्। ‘हैट’ बोल्ने बुद्धि तामाङको ‘हैट शैली’ पुरानो भइसक्यो उनले यहाँ पनि छोड्दै छोड्दैनन्। अझ फिल्ममा उसको र उसकी श्रीमतीका बीच देखाइएको नाटक त समाजका मान्छेको वास्तविक जीवनमा मेल खाएमा उल्का नै मान्नु पर्ने हुन्छ।
छक्का-पन्जाले यति बिधि पैसा कमाउनुको पहिलो कारण पत्रकार बिजय कुमारको शब्द सापटी लिएर भन्नुपर्दा “खित्खिते” हाँसोलाई हाम्रो समाजले भूकम्पको विपदका माझमा पनि र भात खाएर राडीमा ढल्केर हातमा रिमोट बोकेर ऐयासी आसनमा बस्दा पनि बिना सर्त स्विकार्नु रहेछ। दोश्रो कारण त्यही खित्खिते हाँसो सर्ब स्वीकृत भएपछि एक छिमल उत्पात बिकेका कलाकारहरुको अनुहार र तिनको भिडभाडयुक्त हल्ला र प्रचारशैली रहेछ।
अन्त्यमा कपि राइटको कुरा। छक्क-पन्जा दिपक, दिपा र त्यसका अरु निर्माताको सम्पति हो। त्यो अरु कसैले अनधिकृतरुपले नाफा लिन वा नलिन उनको स्वीकृतिबिना प्रयोग गर्न पाउनु हुदैन। उनीहरुको यो अधिकारको रक्षा र ग्यारेन्टी कानुनले र राज्यले गर्नुपर्छ। पत्रपत्रिकामा पढ्न पाएअनुसार र स्वयम् दिपककै फेसबुक बक्तब्यअनुसार कृष्ण सुबेदी भन्ने व्यक्तिले फेसबुकमा हालेछन्, पुलिस लागेछ, दिपक आफैं बिबाद मिलाउन संलग्न भएछन् र उनलाई सफाई दिएर छोडिएछ।
तर मृतक कृष्ण सुबेदीले ब्यांकको कोड नम्बर सहित लेखेर छोडेको हस्तलिखित सु-साइड नोट उनकै हो भने उनलाई कपिराइटको मामिलामा ज्यान मार्ने धम्की आउन छोडेनछ। सायद डरको ओखति नभएर मर्नु जाति ठाने होला उनले। प्रहरीले उनलाई ज्यान मार्ने धम्की दिने मान्छेको सम्भाव्यता खोजी गर्न चाह्यो भने सायद यसको रहस्य थाहा पाइएला।
दुखद् कुरा के भने कपि राइटको नाममा एउटा युवाको ज्यान गयो। कपि राइटबारे यस्ता दुखद् घटना अझै पनि घट्न सक्छन्। नेपालमा कानुनबिपरित काम गर्नु कानुनको फन्दामा नपरुन्जेलसम्म सबैलाई घीउभात खानु जस्तै मज्जा र हल्काफुल्का कुरा हो। त्यसमाथि शक्ति सन्तुलन मिलाउन सक्नेलाई खासै कानुन पनि लागिहाल्ने होइन। पर्ने र मर्ने निमुखाले नै हो।
नेपालमा कपि राइटको उल्लङ्घन कहाँ छैन। एउटा सिनेमाको कपि राइट चोरी भयो भनेर तातेर र सेलाएर मात्रै के गर्नु। जतिसक्दो जोगिएर हिंड्न खोज्नु राम्रो बरु। नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय छ कीर्तिपुरमा। त्यसको छेउछाउ र कीर्तिपुर बजारभरि अनगिन्ति पुस्तक पसल र फोटोकपि पसलहरु छन्। ती फोटोकपि पसलमा संसारका नामीनामी लेखक, प्राध्यापक, अनुसन्धाता र विश्लेषकका कृतिहरुको खुल्लमखुल्ला कपि राइट चोरी गरेर डिजिटल फोटोकपि र साधारण फोटोकपि गरेर देसभरिका पुस्तक पसलहरुमार्फत बेचबिखन हुन्छ र ब्यापारीहरु अकुत कमाइरहेछन्। देसका सबैजसो क्याम्पस र विश्वविद्यालय पढ्ने बिद्यार्थीहरु कपि राइट उल्लङ्घन गरिएका ज्ञानका ठेली पढ्छन। मैले पनि तिनै पसलबाट तिनै फोटो कपि किनेर पढें। कपि राइट कानुनको पालना गराउने ठुला पुलिस र कर्मचारीले पनि तिनै कपि राइट तोडिएका फोटोकपि नै पढेर बिए एमए गरेका होलान्। नेपालका कम्युटरमा चल्ने माइक्रोसफ्टको विन्डोज, माइक्रोसफ्ट अफिस प्याकेज, एडोब एक्रोब्याटका प्रोडक्ट लगायत सबैजसो पाइरेटेड नै चल्ने रहेछन्। नेपाल प्रहरी र नेपाल सरकारका कर्मचारीका कम्प्युटरमा माइक्रोसफ्टका कपि राइटवाला आधिकारिक प्रोडक्ट छन् कि छैनन् होला भन्ने बडो कौतुहलता छ लेखकलाई।
‘काँक्रा पो नचोर्नू भन्या त, मुला त चोरेर खाए भइहाल्छ नि’ भने जस्तो छ हाम्रो कपि राइट कानुनको पालना र हाम्रो ब्यबहार नेपालमा। कपि राइटका नाममा फेरि कुनै कृष्ण सुबेदीहरुले मर्नु नपर्ने र दिपक दीपाहरुले पनि ढुक्कले आफ्नो सम्पतिको हीत-रक्षाको ग्यारेन्टी पाउने ब्यबस्था त राज्यले नै मिलाउने हो। तर कसरी ?
यहाँ माइक्रोसफ्टको अफिस प्याकेजलाई १५ हजार नेपाली मूल्य तिरेर आफ्ना कम्प्युटरमा हाल्नु पर्दा दाँतबाट पसिना काढिएको छ यता त !
नागरिकको जीवन रक्षाका लागि कति गम्भीर हुनु पर्छ राज्यले भन्ने कुराको एउटा सानो उदाहारण यहाँ प्रस्तुत गर्छु:
एकपल्ट क्यानडाको अल्बर्टा राज्यकी एक गर्भवती माहिला घुम्न टाडाको अर्को राज्य ओन्टारियो गएकी रहिछन्। बालुवामा पल्टेर बिदा मनाइरहेका बेला उनलाई ब्यथा लाग्यो। नजिकै अस्पताल थिएन। एयर एम्बुलेन्स बोलाएर उनलाई नउठाए ज्यानलाई खतरा भयो। तुरुन्तै फोनबाट एयर एम्बुलेन्स बोलाइयो र उनलाई सम्भावित खतराबाट बचाइयो। अर्कै राज्यको मान्छेलाई अर्कै राज्यमा सेवा दिनु परेकोले पछि ८ हजार डलरको बिल तिर्नुपर्ने भयो ती महिलाले। यो धेरै ठुलो बिल हो क्यानडामा, उनले एक्लै तिर्न सक्ने कुरै भएन। मिडिया गुहारियो। मिडियाले यो घटनालाई फेरि पनि हुनसक्ने नौलो र मान्छेको जीवनसँग जोडिएको इस्यु बनाएर यस्ता घटनाको दीर्घकालीन समाधानका लागि दुई राज्यले कानुन नै बनाएर ब्यबस्थापन गर्नु पर्ने भनेर आवाज उठाए। पछि दुई राज्यका मुख्यमन्त्री बीचमा कुरा भएर एयर एम्बुलेन्सको बिल दुई राज्यले आधा आधा बेहोर्ने र त्यहीअनुसारको कानुन बनाउने सहमति भएको समाचार आयो।
भन्न खोजेको कुरा नागरिकको जीवनकै सवाल आइसक्यो कपि राइटको कुरामा भने राज्यले यसबारे जे गर्नु पर्ने हो त्यो गर्न ढिलाई गर्नु भएन।
- See more at: http://karnalikhabar.com/news/2017/01/22/43996.html#sthash.tkIkMtwb.dpuf
No comments:
Post a Comment