अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ आप्रवासी नीतिले नेपालीहरु निकै त्रसित देखिएका छन् नि !
राष्ट्रपति ट्रम्पको आप्रवासी नीति नेपालीलाई मात्रै आएको छैन्, सबै प्रवासीलाई आएको हो । उनले चुनावमा जे भनेका थिए, त्यही कुरा कार्यान्वयन गर्न ‘एक्सन’ लिएका हुन् । ७ वटा मुस्लिम देशका नागरिकलाई त अमेरिकामा निषेध नै गरिएको छ । इराकबाट भिसा नै लिएर आएकाहरु पनि अमेरिका छिर्न नपाएको समाचार आएको छ । उनी सबैभन्दा बढी मुस्लिमप्रति अनुदार देखिएका छन् । नयाँ कानुन नल्याए पनि पुरानो कानुनको ‘प्रोसेस कम्लिकेटेड’ बनाइएको हो ।
‘ट्राभल डकुमेन्ट’ लिएर नेपाल वा अन्य देशमा गएका धेरै नेपाली अमेरिका फर्कँदा विमानस्थलमै समातिने वा फिर्ता गरिने खतरा छ ।
चुनावका बेला उनले जे आप्रवासी मुद्दा बोलेका थिए, त्यही कुरामा अडिग देखिन्छन् । स्वदेशीलाई प्राथमिकता दिने उद्देश्यले उनले ‘एक्शन’ लिएका छन् । तर, यसमा उनको पार्टीमा पनि शतप्रतिशत समर्थन छैन् । देशभित्र पनि विरोध छ । लोकप्रियताको आधारमा काम गर्न खोजेको देखिन्छ । अमेरिकाको इतिहासमा यति कडा रुपमा प्रस्तुत हुने उनी पहिलो एक नम्बरका राष्ट्रपति पर्छन् ।
नेपाली र सिरियाली आप्रवासीबीच तुलना गर्न मिल्छ ?
नेपालीलाई अन्य आप्रवासीसँग तुलना गर्न मिल्दैन । उनले मुस्लिमहरुलाई ‘टार्गेट’ गरेका छन् । तर, अवैधानिक अर्थात कागजपत्रविहीन सबैमाथि एउटै कानुन लाग्छ । आपराधिक रेकर्ड भएका सबै देशका नागरिक निष्काशित हुन्छन् । त्यो सूचीमा नेपालीहरु पनि पर्न सक्छन् । किनकी कतिपय नेपालीहरुको कुनै न कुनै आपराधिक रेकर्ड हुन सक्छ । ‘क्रिमिनल रेकर्ड’ हुने नेपालीको संख्या कति छ भन्ने चाँहि हामीसँग रेकर्ड छैन् । सानो गल्तीमा पनि देशबाटै निष्काशित हुनुपर्ने डर सबै आप्रवासीमा छ ।
त्यसो भए नेपालीहरुलाई पनि प्रभाव पार्छ है ?
हो, खासगरि भूकम्पपछि हामीले जसरी लडाईं लडेर टीपीएस सुविधा लिएका थियौँ, त्यो सुविधा के हुन्छ भन्नेमा द्विविधा छ । ‘ट्राभल डकुमेन्ट’ लिएर नेपाल वा अन्य देशमा गएका धेरै नेपाली अमेरिका फर्कँदा विमानस्थलमै समातिने वा फिर्ता गरिने खतरा छ । यसैले नेपालीहरुले विशेष सजगता अपनाउनुपर्ने जरुरी छ । ओबामा प्रशासनले दिएको सुविधालाई यो सरकारले मान्छ नै भन्ने छैन् । यदि टीपीएसका सन्दर्भमा सरकारले कडाइ गरे करिब १४ हजार जति नेपाली प्रभावित हुन सक्छन् ।
मेक्सिको हुँदै अमेरिका छिरेका नेपालीहरुलाई चाँहि के हुन्छ ?
मेक्सिको हुँदै अमेरिका छिरेका र छिर्ने तरखरमा रहेका धेरै नेपालीलाई त झनै असर पर्छ । पहिले कतिपय नेपाली मेक्सिको–अमेरिकाको बोर्डरमा समातिन्थे । उनीहरुलाई अमेरिकाले हिरासतमा राख्थ्यो । उनीहरुले कानुनी लडाईंबाट अमेरिकामा बसोबासको मान्यता पनि पाउँथे । तर, अब धेरै नेपाली मेक्सिकोको बोर्डरबाट फर्काइने सम्भावना छ । मेक्सिको हुँदै अमेरिका नै छिरे पनि थप कानुनी जटिलताहरु झेल्नुपर्ने हुन सक्छ ।
यसले दीर्घकालिन रुपमा के-के असर गर्छ ?
ट्रम्पको नीतिले अमेरिकामा कानुनी रुपमै बसेका अन्य आप्रवासी र गोराबीचमा पनि द्वन्द्व सिर्जना गर्न सक्छ । भेदभाव पैदा गर्छ । अहिलेसम्म केही नयाँ कानुन नआए पनि ‘फ्रेन्डली’ वातावरण देखिएको छैन् । अमेरिका भिसा र पीआरमा पनि कडाइ हुनसक्छ ।
No comments:
Post a Comment