Monday, 30 January 2017

ग्याङ फाइटमै उत्रे कांग्रेस-एमालेका युवा, कांग्रेस महाधिवेशन प्रतिनिधि पक्राउ

गम्भीर घाइते युवा संघका नगर इन्चार्ज दिवस राई।

धरान, १७ माघ । केन्द्रमा काँग्रेस–एमालेका नेताहरु मिल्न नसकिरहेको बेला अब उनका कार्यकताहरु पनि कुटाकुटमा उभिएका छन् ।

धरानमा एक साताअघि युवाहरुबीच भएको झगडा मिलाउन गएको आरोपमा हिजोराति (आइतबार) एमाले उपमहानगर कमिटी सदस्य तथा युवा संघका इञ्चार्ज दिवस राई कुटपिटबाट गम्भीर घाइते भएका छन् ।

उनलाई कांग्रेस निकट तरुण दलका जिल्ला उपसभापति सन्तोष बिकसहितको समुहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका बिकलाई राति नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अन्य युवाहरु भने फरार भएकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते रहेका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । धारिलो हतियारले उनको टाउको, नाक, दुवै हात र शरीरको विभिन्न अंगमा गम्भीर चोट पुगेको छ ।

एक समय धरानका डन भनेर चिनिएका दिवस पछिल्लो समय पार्टीको गतिविधिमा सक्रिय भएको थिए । त्यस्तै, लिम्बुवान पृष्ठभूमिबाट राजनीतिमा छिरेका बिक कांग्रेसमा प्रवेश गरेपछि राजनीतिको आडमा गुण्डागर्दीमा सक्रिय छन् ।

घटनामा घाइते भएका मिलन राईले बिकसहित पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् । उनले विकसँगै कान्छा भन्ने प्रदिप राई, सेते भन्ने नरसिंह राई, अनिल रसाइली र राजेश गुरुङकोविरुद्ध किटानी जाहेरी दिएका छन् ।

यसअघि माघ १० गते राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताको टक्सन फुड कर्नरमा सुमित तामाङ र मनोज राईबीच झगडा भएको थियो । डीएसपी ढकेन्द्र खतिवडाले घटनाबारे अनुसन्धान गरी कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिए ।

No comments:

Post a Comment