सुण्डी, हुण्डी र भिण्डी (भिजिट भिसाका ब्यापारीहरु) देशका महाशत्रु हुन । म यही भन्छु । केही दिन पहिले नेपाल एअरपोर्टमा ३४ केजी अबैध सुन सहित गोपाल बहादुर शाही पक्राउ परे । मैले सामाजिक संजालमा केही स्ट्याटस लेखेँ र नेपाल सरकारलाई धन्यवाद दिएँ ।
एकजना साथीले फोन गरेर नै भन्नु भो, यो ३४ केजी सुन पक्राउ परेको बिषयमा धेर नबोल, नलेख । टार्गेटमा पर्छस रे । मैले भने, मेरो गुनासो, रिस, आग्रह जे भने पनि नेपाल सरकारसँग हो, सुण्डीवालासँग हैन ।
हिजो मात्र मैले सामाजिक संजालमा सुण्डीवाला साथीलाई एउटा खुला पत्र लेखेको थिएँ । अहिलेको बजार मुल्य अनुसार ३४ केजी सुनको हिसाब गरेको त झण्डै १४ करोड रुपैयाँ बराबरको हिसाब पर्न आउँदो रहेछ । अब पक्राउ परेपछी अदालतले सोही मुल्य बराबरको बिगो पनि लगाउने भयो ।
अरु वकिल खर्च, टेबल मुनी र माथिको खर्च गरेर ३० करोड जतिको सालाखाला खर्च हुने पक्का भो । त्यो रकम मेरो लागि त निकै ठुलो रकम हो । दुःख लाग्यो । मेरो त्यो दुस्ख मैले खुला पत्र मार्फत प्रकट गरेँ । साहानुभुति प्रकट गरेँ । धेरैले स्याबास भने, केहीले गाली पनि गरे भने केहीले माथि भने झै डर पनि देखाए ।
यसरी दुबईबाट गएको ३४ केजी सुन सहित गोपाल बहादुर शाही पक्राउ परे पछी यो सुन कसको भन्नेमा सबैलाई चासो छ । सबैलाई शंका पनि छ यसको पो हो कि, त्यसको पो हो कि भनेर । तर मुख खोलेर कोही बोल्न भने सक्दैनन । बोलुन पनि कसरी बोले पछी प्रमाण पुर्याउनु पर्दछ । बरु नबोलेकै जाती । त्यसैले पनि अहिलेसम्म दुबई शान्त छ । भित्र भित्र खासाखुस चले पनि मुख फोरेर कसैले बोल्ने हिम्मत गर्न सक्दैन । म पनि हिम्मत गर्न सक्दिन ।
मलाई मेरी आमालाई किनिदिएको ३ तोला काँचो सुन छुट्टी जाँदा कसरी लिएर जाने भन्ने पीर छ । हामी मजदूरले ५० ग्राम काँचो सुन लान नपाउने नियम लागु हुनु भन्दा केही दिन अघी मात्र मैले ३० ग्रामको बिस्किट किनेको थिएँ ।
मलाई ३० ग्राम सुन लान रोक्ने नेपाल सरकारको भन्सारले ३४ केजी सुन सजिलै लैजान दिने रहेछ भन्ने कुराको खुलासा भएको छ । त्यसो त यो बारेमा को नै जानकार थिएन होला र ? मेरो अनुमानमा त सबै जानकार थिए । उबेला ५० ग्राम सुन लान नदिएर हाम्रो सरकारले ठीक गर्यो भन्दै फेसबूकका भित्ताहरुमा जय जयकार गर्नेहरु अहिले दुलो पसेका छन ।
काँचो सुन लान दिनु हुन्न भन्नेहरुलाई अहिले त पक्का थाहा भयो होला नि काँचो सुन हामी जस्तो मजदूरले लान्छ कि तस्करले लान्छ ?
तपाईंलाई थाहा छ ? नेपाल सरकारको तथ्याँक अनुसार नेपालको दैनिक सुन खपत ७ केजी मात्र रे । र, बढीमा बिहेबारी हुने महिनामा दैनिक १० केजी सुन बिक्री हुन्छ रे । मतलब महिनामा २०० केजी देखी बढीमा ३०० केजी सुन नेपाली बजारको क्षमता हो ।
पक्राउ परेका शाही कै भनाईमा पनि १० पटक सफलतापुर्बक लगिसकेको (३०० केजी भन्दा धेरै) र ११ औ पटकको बेला पक्राउ खाएको भन्ने छ । तर जानकारहरु के भन्छन भने त्यो पक्राउ खाने शाही भाईले पनि ९९ प्रतिशत डिस्काउन्ट गरेर भनेको रे । त्यो १० पटक त एक महिनामा रे । मतलब एक महिनामा ३०० केजी भन्दा बढी सुन त्यसरी नेपाल लगिन्थ्यो ।
अब भन्नुस्, दुबईबाट मात्र महिनामा ३०० केजी एकजना सुन तस्कर मार्फत भित्रिन्छ भने बाँकी देशबाट भित्रिने सुन, नेपाल राष्ट्र बैंकले बेच्ने सुन, ब्यापारीहरुले लाजगाल देखाउनको लागि भए पनि कानुनी च्यानलबाट खरिद गरेका सुन कहाँ जान्छ ? प्रश्न यो हो नि । केही पत्रपत्रीकाका भनाइ अनुसार यो सुन अबैध ढंगले भारत जाने गरेको छ ।
अर्का एकजना साथीले भने, यसमा जतिसुकै गरे पनि घुस दिने र लिनेको कुरा मिल्छ । किनभने नेपालका कर्मचारी कोही पनि चोखो छैन । यो कुरा चाँही साँच्चै हो जस्तै लाग्यो । ५-७ बर्ष अघी मैले चिनेका एक जना मान्छे थिए नेपाल सरकारका कर्मचारी, अलि सानै पोस्टका हुन उनी । उतीबेला उनी भन्थे, एअरपोर्टमा जानको लागि १५ लाख घुस खुवाएको छु । कुरा छर्लङ भएन र ? अनी त्यो कर्मचारीले सुन नखाए के खान्छ ?
नेपाल सरकार प्रति सर्बसाधारणमा विश्वाश जगाउनु पर्यो । देशले उनीहरुको सुरक्षाको प्रत्याभुती गर्नु पर्यो, उनीहरुले देशको सुरक्षा गर्छन् । सुण्डी र हुण्डीले नै हो देशको अर्थतन्त्र धराशायी हुने । मजदुरहरुको क्याम्प क्याम्पमा गएर हुण्डी रकम बटुल्नेले नै हो सुण्डी गर्ने ।
यिनिहरु देशका धमिरा हुन । यिनलाई निर्मुल पार्दै देशलाई उँभो लगाउने हो भने जनतामा चेतना जगाउन जरुरी छ । अँ साँच्ची, सामाजिक संजालमा कुर्लने राष्ट्रबादीहरु कता गए ? नेपाल सरकारलाई हुण्डी, सुण्डी र भिण्डीका गिरोहलाई पक्राउन सहयोग गर्नु पर्यो ।
सर्बेन्द्र खनाल र नवराज सिलवालहरु अझै पनि बैंकक, दोहा, दुबई र ब्रुनाई जस्ता देशहरुमा खुसुक्क घुम्न जरुरी छ । जनस्तरमा सम्बन्ध बढाउने र साधारण मजदुरसँग उनीहरुको पँहुच बढाउने हो भने नवराज सिलवालले यस्ता सुन अरु पनि धेरै पक्रिने छन ।
अनी २५ प्रतिशत कमिसन यता पनि बाँड्ने हो भने यस्ता सुण्डी, हुण्डी र भिण्डी त कति हो कति पक्राउ खाने । नेपाल सरकारको ईच्छाशक्ती हुनु पर्यो काम भटाभट ।
मेघराज सापकोटा ।
No comments:
Post a Comment