Friday, 27 January 2017

संघीय समाजवादीका सहअध्यक्ष श्रेष्ठलाई पार्टीबाट हटाउन लबिङ -

काठमाडौं, १४ माघ । गत मंसिरमा संघीय समाजवादी फोरमबाट ५ केन्द्रीय सदस्यसहित भ्रातृ संगठनका कार्यकर्ता एमाले प्रवेश गरेपछि उच्चतहका नेताहरुबीच असमझदारी चुलिँदै आएको छ ।

सोही कारण अहिले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई जसरी पनि बाहिर खेद्न संगठनमा सबै एकमत हुन थालेका छन् ।

श्रेष्ठ मुख्यगरी तत्कालीन संघीय प्रेस फोरमका उपाध्यक्ष सुकदेव चामलिङ, संलकुद महासंघका ओमकृष्ण प्रसाई, राजेन्द्र खनालसहितका टिमले राजीनामा दिएसँगै पार्टीभित्र अप्ठ्यारोमा पर्दै आएका छन् ।

उनीहरुमध्ये चामलिङ वरिष्ठनेता अशोक राईका अघोषित प्रेस संयोजकजस्तै थिए र प्रसाईं र खनाल अध्यक्ष उपेन्द्र यादवका विश्वासिला कार्यकर्ता मानिन्थे ।

अध्यक्ष र वरिष्ठ नेतानिकटका कार्यकर्ताले पार्टी परित्याग गरेसँगै डाकिएको आकस्मिक पदाधिकारी बैठकमा समेत सहअध्यक्ष श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएपछि सबै रुष्ट बनेका थिए । अहिले संघीय समाजवादीबाट सहअध्यक्ष श्रेष्ठलाई निकाल्नेमा सबै एकमत देखिका छन् ।

नयाँशक्ति पार्टीसँग एकीकरण भईहालेमा श्रेष्ठलाई केन्द्रीय सदस्यमा झार्ने तयारी पनि भित्रभित्रै हुन थालेको छ । र, एकीकरण नभई हालेमा आउँदो महाधिवेशनबाट उनलाई फ्याल्ने रणनीतिमा प्रायः सबै एक छन् ।

यसको मूलकारण पार्टी संयन्त्र र संगठन सहअध्यक्ष श्रेष्ठकै कारण दिनप्रति दिन बिग्रदै जाने निष्कर्ष निस्कनु रहेको एक केन्द्रीय नेताले बताए ।

सो दिनको पदाधिकारी बैठकमा आफ्नै कारणले पार्टी परित्याग गरी एमाले प्रवेश गरेको निष्कर्ष निस्केपछि श्रेष्ठले उपत्यकाका तीनै जिल्लाका नेवारी समुदायका नेताहरुको गोप्य भेला डाकेका थिए ।

उनले सो भेलामा आफू सशक्त भएमात्रै सबैलाई जोगाउन र जिम्मेवारी भनेजस्तो दिन सकिने भएकाले सशक्त एकताबद्ध भई बस्न भनेको स्रोतले जिकिर गरे ।
newsabhiyan
एमाले छिरेकाबीचमै विभाजन संघीय समाजवादीबाट एमाले प्रवेश गरेकाहरुको जिम्मेवारी हालसम्म टुंगो नलागेपछि उनीहरुबीचमै तालमेल मिल्न सकेको छैन ।

एमालेले एक वैकल्पिक केन्द्रीय सदस्यसहित सम्मानजनक समायोजन गरिदिने भने तापनि हालसम्म परिभाषित जिम्मेवारी नतोकिँदा एकअर्काबीचमै विभाजन आउने देखिएको छ ।

पहिचानको आन्दोलनमा खरो देखिने गरेका तत्कालीन प्रेस फोरम उपाध्यक्ष चामलिङ युवा संघमा समायोजन हुने भनिए तापनि पूर्वेलीको टिम लिएर माओवादी केन्द्रमा भित्रिने कसरतमा छन् । उनी एमाले प्रवेशपछि पनि खासै उत्साहित थिएनन् ।

उनलाई पछिल्लो समय एमालेभित्रै रहेकाहरुले समेत पार्टीमा रहिरहनेमा आशंका गरेपछि माओवादी केन्द्र छनोट गरेका हुन् । यसैले उनी सँगै एमाले प्रवेश गरेको टिमबाट समेत टाढिन थालेका छन् ।


No comments:

Post a Comment