काठमाडौ | नेपालमै पहिलो पटक बिद्यार्थीहरुले सोलर हाइब्रिड कार बनाएका छन् । उक्त कार पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिब कलेज लामाचौर पोखराका इलक्ट्रो मेकानिकल इन्जिनियरिबका विद्यार्थीहरूले तयार पारेका हुन् । आठ जना विद्यार्थीले निर्माण गरेको योे कारमा चालकसहित ४ सिट क्षमता छ । यो कारलाई सोलारका अतिरिक्त ब्याट्रीबाट पनि चलाउन सकिन्छ ।
कारलाई ३० किलोमिटर प्रतिघण्टाको गतिमा गुडाउन सकिने जानकारी निर्माणमा संलग्न पयस रिमालले दिए । उक्त कार आफूहरुले ३ लाख ५० हजार रुपैयाँ लगानी गरेर बनाएको उनले बताए । विश्वमा देखिएको उर्जा संकट र गत वर्ष मुलुकले भोगेको नाकाबन्दीलाई मध्यनजर गर्दै १ वर्ष मेहनत गरेर कार निर्माण गरेको जानकारी उनले दिए ।
उनीहरुले २०७२ सालको भदौमा बनाउन सुरु गरेका थिए । यस वर्षको भदौमा कार तयार भएको थियो । पढ्दै गरेका बिद्यार्थीले पूरै समय यहीकाममा दिन नसक्दा सोचेभन्दा धेरै समय लागेको जानकारी उनले दिए । एक सय ५० वाटको २ वटा सोलार प्यानल जडान गरेर उक्त कारलाई चार्ज गर्न सकिन्छ । कारमा धेरै आधारभूत सिस्टमहरु जडान गरिएको रिमालले जनाए । यसलाई राम्रोसँग फिनिसिब गर्न अझै बाँकी छ । डिलक्स सुविधा भएको कार रुपमा निर्माण गर्न करिब ८ लाख खर्च लाग्छ,’ उनले बताए ।
विदेशमा संचालनमा आएका सोलार कारको सिस्टम र ईन्टरनेटबाट अन्य खोज गरेर आफूहरुले यस्तो कार निर्माण गरेको जानकारी उनले दिए । पुराना गाडीका पार्टपुर्जासहित अन्य सामाग्री प्रयोग गरेर उनीहरुले उक्त कार निर्माण गरेका हुन् । कारमाथि राखिने प्यानलको सहायताले ब्याट्री चार्ज हुन्छ । त्यसबाट कारले उर्जा प्राप्त गर्छ । उनीहरुले राजधानीमा जारी क्यान इन्फोटेक मेलामा यस कारको प्रदर्शन गरेका छन् । सबैले उनीहरुको कामको प्रशंसा गरेका छन् । यसलाई ब्यवसायिक रुपमा उत्पादन गर्ने गरी लगानी गर्न भने कोही नआएको उनले बताए । यसबारे अझै अध्ययन गरेर सस्तैमा स्वदेशमै कार उत्पादन गर्ने योजना रहेको उनले सुनाए |
No comments:
Post a Comment