सिरहा, १६ माघ । सिरहाको लहानस्थित ग्लोबल आइएमई बैंकबाट एक सेवाग्राहीको रकम नै गायब भएको छ । सप्तरी सारश्वर-४ गौरा घर भएकी अनितादेवी रामको खाताबाट रकम गायब भएको हो ।
ग्लोबल आइएमई बैंकमा अनिताको खाता नम्बर १६०७०१०००६३८१ रहेको छ । श्रीमानले विदेशबाट पटक-पटक पठाएको रकम खातामा राखेकी थिइन् । उनको खातामा ३ लाख १० हजार रुपैंया थियो । तर, रकम झिक्न जाँदा खातामा रकम नै नभएको बैंकका कर्मचारीले बताएपछि उनी जिल्ल परिन् ।
माघ ९ गते अर्थात् आइतबार अनिता रकम झिक्न बैंक पुगेकी थिइन् । उनी भन्छिन्, ‘म बैंकमा जानेवित्तिकै आफ्नो झोलामा नागरिकता र चेकबुक खोजें । तर, भेटिन । बैंकको खाता नम्बर मसँग थियो । काउन्टरमा पुगेर खाता नम्बर एक कर्मचारीलाई दिएँ । ब्यालेन्स चेक गरिदिन आग्रह गरेँ । उनले रकम मात्र १६ हजार रहेको बताए । म त आश्चर्यमा परेँ ।’
खातामा मात्र १६ हजार रुपैंया मात्र रहेपछि अनिता बैंकका म्यानेजर विशाल गुप्तालाई भेटिन् । उनले सोधिन, ‘मेरो खाताबाट रकम कहाँ गायब भयो ?’ म्यानेजरले भने, ‘रकम तीन पटक तपाईको खाताबाट निकालिएको छ ।’
बैंक म्यानेजरको कुरा सुनेपछि उनी त झन् आश्चर्यमा परिन् । उनले भनिन्, ‘मैले रकम निकालेकी छैन् ।’
म्यानेजरले उनीसँग नागरिकता र चेक बुक मागे । तर उनीसँग न नागरिकता थियो, न त चेकबुक नै । त्यसपछि बैंकका म्यानेजरले भने, ‘तपाईको चेकबुक र नागरिकता चोरेर सायद अरुले नै रकम निकालेको हुनसक्छ ।’
बैंक म्यानेजरको कुरा सुनेपछि मात्र पीडित महिलाले पनि सोचिन -‘कसैले मेरो नागरिकता र चेकबुक चोरेर रकम झिकेछन् ।’
पीडित महिला भन्छिन्, ‘बैंकका म्यानेजरलाई सबै कुरा सुनाएपछि एकछिन बस्न भने । त्यसपछि भोलि बैंक आउन भने ।’
पीडित
भोलिपल्ट (सोमबार) पनि उनी बैंक पुगिन् । त्यसपछि पीडित महिलालाई बैंकका म्यानेजरले भने, ‘तपाईको खाताबाट रुपेश यादब र राहुल यादबले रकम झिकेछन् । चिन्ता नलिनुस् उनीहरूमाथि कारबाही हुन्छ र तपाई रकम फिर्ता पाउनुहुन्छ । पीडित महिलालाई ती केटाहरूले रकम तीन पटक निकालेको चेक समेत हेर्न दियो ।’
त्यसपछि उनी झनै झसंग भइन् । भन्छिन्, ‘चेक हेरेँ । चेकमा सही मिलेको थिएन् । म गर्ने सहीभन्दा धेरै फरक थियो । तर कसरी उनीहरूलाई बैंकले रकम दियो । मलाई लाग्छ बैंकको कर्मचारीको पनि मिलोमतोमा मेरो खाताबाट रकम निकालेछन् उनीहरू ।’ उनी प्रश्न गर्छिन, ‘ठीक छ मेरो चेकबुक र नागरिकता हरायो । अनि मेरो सही त हराएन । त्यो चेकबुक खाली थियो । अनी कहाँबाट मेरो सही नक्कल भयो ? बैंक कर्मचारीको मिलोमतो प्रष्ट हुन्छ ।’ बैंक म्यानेजरले आफूलाई यो कुरा कसैलाई नभन्न भनेका छन्, त्यसैले बैंकका कर्मचारीको मिलोमतो प्रष्ट हुन्छ– उनले थपिन् ।
पीडित ६ दिनदेखि बैंक धाइरहेकी छिन् । सप्तरी सारश्वरबाट लहान आइपुग्न र फर्किन् उनलाई दैनिक ५ सय बढी खर्च हुन्छ । तर, उनको रकम अझै खातामा आएको छैन् । जग्गा खरिद गर्न बैंकबाट रकम झिख्न खोजेकी थिइन् उनले ।
पीडित अनिताको श्रीमान् साउदीमा छन् । साउदीमा पसिना बगाएर श्रीमानले पठाएको रकम पनि बैंकबाट गायब भएपछि उनी रकम पाउँछु कि पाउँदिनँ भन्ने चिन्तामा डुबेकी छन् । उनी आजभोली पाउँछु भन्ने सोँचेर दिनहुँ लहान धाइरहेकी छन् । तर बैंकले वास्ता गरेकै छैन् ।
मतलब छैन् बैंक म्यानेजरलाई
घटनाबारे थाहा पाएपछि ग्लोबल आइएमई बैंक पुग्दा बैंक म्यानेजर विशाल गुप्ताको कार्यकक्षमै थिए । घटनाबारे सोध्न थालेपछि उनी पन्छिन खोजे । घटना बाहिर नल्याइदिन आग्रह गरे, उनले ।
उनले अनिताको खाताबाट रकम कसले निकाले र कुन–कुन मितिमा निकाल्यो भन्ने कुरा बताउन चाहेनन् । सेवाग्राहीको गोपनीयता भन्दै पन्छिए । रकम निकाल्ने दुई युवाको नाम पीडितलाई बताएका म्यानेजर सञ्चारकर्मीलाई बताउन चाहेनन् ।
म्यानेजर गुप्ताले अनिताको खाताबाट कसरी रकम निकालियो र निकाल्नेहरु को–को हुन् भन्ने विषयमा अनुसन्धान गरिरहेको मात्र बताए । उनले खुलेर भने, ‘बैंक कर्मचारी र सेवाग्राही दुबैको लापरबाही देखिन्छ । हामी अनुसन्धान गर्दैछौं । दोषी अहिले नै भन्न सकिदैन् ।’
No comments:
Post a Comment