भनिन्छ राज्य कमजोर भयो भने नागरिक पनि कमजोर हुन्छन् । नागरिकहरु कमजोर भएपछि राज्य चलाउनेहरु केही मान्छेहरु बलिया हुन्छन्, र नागरिकहरु तिनै राज्य चलाउनेहरुको भुलभुलैया हुन पुग्छन् । राज्य गरीबको गरीब हुन्छ, सिमित मान्छेहरु झन् धनी हुन्छन् । तेश्रो बिष्वका धेरै देशको अवस्था अहिले पनि त्यस्तै छ । हाम्रो प्यारो देश नेपाल यही पीडाबाट गुज्रिरहेको छ ।
तर अत्यास लाग्दा खबरहरुको बिचमा केही खबरहरु सुखद लाग्छन् , तिनै खबरहरुले मन शीतल गराउँछन् । एउटा नागरिकको कर्तब्य पूरा गर्न हास्य कलाकार धुर्मुस र सुन्तलीले फेरि तेश्रो एकीकृत बस्ती बसाउने रे, सदियौं देँखि हाँस्न नपाएका मुसहरहरुलाई हँसाउने रे ! अहा, कति सुखद खबर । यो देश नै यस्तै छ ईमान च्याँपेकाहरुले रुवाउँछन, पर्दामा ठग्नेहरु भै पर्दामा साँच्चै भगवान बनेर आउँछन् ।
देश बनाउने ठेक्का कस्को हो ?
हुन त यसरी एक दुई वटा नागरिकले बस्ती बसाएर पूरा देश बन्दैन, यसले झन परनिर्भरताको पृष्ठपोषण गर्छ भन्ने पनि हो तर जब राज्य निकम्मा बन्छ त्यस्तो बेला राज्यलाई झकझकाउन यसो गरिरहनु पर्छ, जनताको नाममा राजनीति गरेर करोड़पति हुनेहरुको बिरुद्द सांकेतिक बिरोध र दुखमा परेकाहरु प्रतिको सद्भाव पनि हो यो । त्यसैले कमजोर राज्यलाई सहयोग या चुनौती जे भने पनि यस्ता परोपकारी काम भईरहनुपर्छ ।
देशमा यतिबेला पहिचानको मुद्दा उत्कर्षमा छ, देशमै यतिबेला सिमांकन र पदांकनको किचलोमा छ । देशै नरहने बारे नमिठा कुराहरु गरेर जनताको नाम भजाएर बिगत दश बर्षमा धेरैले आफूलाई सम्पन्न बनाईसकेका छन् । तर नागरिकका प्रतिनिधि तिनै धुर्मुस सुन्तली कहिले पहाडमा गरीबका बस्ती बसाउँछन्, कहिले तराईमा बस्ती बसाउन कस्सिन्छन् ।
सरकार टुलुटुलु हेर्छ, लाजै नमानी सरकारका मन्त्रीहरु उद्घाटनमा रिबन काट्छन्, भाषण गर्छन् र भन्छन: “यो सरकारलाई चुनौती हो ।”
गिरानचौरमा बस्ती बस्यो, गरीब जनजातिका चिटिक्क परेका ६५ वटा घर, उनीहरुका नजरमा दरबार बने, तर जातीय पहिचानको नारा लिएर साम्प्रदायिकता हुल्दै जनता बराल्ने आङकाजी र उनका आसेपासेहरुको आङमा घाम लागेन, आफूले सिन्को नभाँच्ने, तर काम गर्नेलाई हतोत्साहित मात्र गर्ने कथित पहिचानको नारा बोक्ने आङकाजीहरुको काम बिरोध गर्नु मात्रै रहेछ । एउटा तरकारीको बोट लगाउन नमिल्ने बस्ती बनाएर धुर्मुसले जनजातिको बिचल्ली पारेको भन्ने खबरहरु सुनिए, जनताले नबुझेको कुरा त्यहाँका जनतालाई थप ब्यवस्था गरिदिने काम आङकाजीहरुको पनि हो कि होईन? के उनीहरुको काम भत्काउने मात्रै हो र ?
त्यो बेलामा कहाँ थियौ ?
लेखक
गिरानचौरमा फेरि धुर्मुस सुन्तलीले पहारी बस्ती बसाउन मजदूरी गरिरहँदा राज्य चलाउनेहरु दलीय भागवण्डामा ब्यस्त थिए, उद्घाटन र समापनमा ब्यस्त थिए भने साम्प्रदायिक पहिचानको राजनीति गर्ने आङकाजीहरु त मस्त निद्रामा थिए , उता मधेसका मसीहाहरु भने कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै पहाडी धुर्मुसले आफ्नै समुदायको घर बनाएर हाम्रो मधेसलाई तिरस्कार गर्यो भनिरहेका थिए । उनीहरु भने आत्महत्या देखि डकैती गरेकाहरुलाई समेत शहीदको लिष्टमा हाल्न कटिबद्ध थिए । यसो नगरे मधेस स्वतन्त्र राष्ट्र समेत हुन सक्ने भन्दै धम्की दिईरहेका थिए ।
अहिले तिनै धुर्मुस सुन्तली मधेस झरेका छन्, परालको डसना हालेर गाई गोठ भन्दा पनि कहाली लाग्दो ठाउँमा सुत्न बिवस मुसहर समुदायलाई नमूना बस्ती बनाउन खटिरहेका छन् ।
त्यसो त जनताको नाममा राज चलाउनेहरु मध्ये केहीले डेढ़ लाखका ब्याग बोक्छन् भने सर्वहारा जनताका प्रतिनिधि एक लाख बढिका पलंगमा सुत्छन् । उनैका खटनका केही मान्छेहरु अचेल फेरि निदाउन सकेका छैनन् होला, केही मान्छेहरु कतै केही खान पाईन्छ कि भनेर मुख बाईरहेका होलान्, केहीले राजनीति संग त केहीले पहिचान संग जोडेका होलान् तर नागरिकले पसिना बगाएर उठाएको रकम जस्का लागि आएको हो त्यसकै लागि खर्च गर्न धुर्मुस सुन्तलीहरु हिच्किचाउने छैनन् , डगमगाउने छैनन् ।
कथित पहिचानवादीहरु हो ! आत्महत्या गर !
एक जोडी नागरिक जत्ति पनि ज़िम्मेवार बन्न नसक्ने भुत्ते सरकार, जनतालाई कालो बजारी गरेर अरबौँ कुम्ल्याउने ठूला ब्यापारी,सडकमा कुर्लेर जाति जनजाति लडाउने कथित पहिचानवादीहरु र मधेसीको नाम बेचेर अहिले सम्म सदाबहार सत्ताको रसस्वादन गर्ने मधेसका मसीहाहरु सबैले अब आत्महत्या गरे हुन्छ । देश बनाउने ज़िम्मा अब नागरिकले लिने छन् ।
आउनुहोस हामी पनि एउटा ईट थपौँ !
धुर्मुस सुन्तलीको राष्ट्र निर्माण अभियान जनताको अभियान हो , देश बिदेशमा रहेका श्रमजीवी युवाहरुको अभियान हो यसमा भ्रष्टहरुले सहयोग नगरे पनि हुन्छ । ज़िन्दगीमा खुशी देख्न नपाएका मुसहरहरुको सपनाको बस्ती बनाउन तपाई हामी पनि केही न केही गरौँ । ईमान र मेहनती हातहरुले सक्दो सहयोग गरौँ र पहिचानको भजन गाएर आफ्नो भूँडी भर्ने कथित मसीहाहरुलाई चुनौती दिऊँ । हाम्रो पसिनाको कमाईको एउटै ईट्टा पनि यो वस्तीमा पर्यो भने भोलि त्यो बस्तीमा तपाईँ जाँदा भगवान आएको अनुभव गर्ने छन् ।
सहयोगको लागि तलको विवरण हेर्नु होला ।
बर्दिबास २, महोत्तरीमा निर्माण हुन लागेको एकिकृत नमूना मुसहर बस्तीलाई सहयोग गर्न Bank Of Kathmandu Lumbini को खाता नं. 016800100370524 मा रकम जम्मा गर्न सक्नुहुनेछ । विदेशबाट Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स गरेर पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग पठाइसकेपछि फेसबुकमा अथवा इमेल dhurmussuntali47@gmail.com मा वा 9803472476 नम्बरमा फोन गरेर जानकारी गराउन आग्रह गर्दछौँ ।
नताका प्यारा धुर्मुस सुन्तलीको जय होस्, सबै मनकारी मनहरुको जय होस् ।
No comments:
Post a Comment