काठमाडौँ, १३ माघ । निर्वाचन व्यवस्थापनका विभिन्न चरण र प्रक्रियामा आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले निर्वाचन आयोग नेपाल र निर्वाचन आयोग भारतबीच सम्झौता भएको छ ।
स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यही माघ ११ गते भारतको नयाँ दिल्लीमा दुबै देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख निर्वाचन आयुक्तले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
“भ्रमणका अवसरमा निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भारतका प्रमुख निर्वाचन आयुक्त डा नसिम जैदी, निर्वाचन आयुक्त ए के ज्योति, ओम प्रकाश रावत, श्रीलङ्का, अफगानिस्तान तथा मालदिभ्सका प्रमुख निर्वाचन आयुक्त, अस्ट्रेलियन निर्वाचन आयोगका आयुक्त, विश्व निर्वाचन निकायका महासचिव, निर्वाचन प्रणालीका लागि अन्तराष्ट्रिय प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग निर्वाचन व्यवस्थापनका लागि आपसीहित तथा सहयोग आदानप्रदान गर्ने सम्बन्धमा समेत छलफल गर्नुभएको थियो”– जारी विज्ञप्तिमा उल्लेख छ । रासस
No comments:
Post a Comment