अमिलो पानि आएर हैरान हुनुहुन्छ भने अब यसो गर्नुहोस ! मुखबाट अमिलो पानी आउने समस्या हामी धेरैमा हुन सक्छ । प्राय बिहान उठ्ने बित्तिकै यो समस्या देखिने हुन्छ । मुख्यतः पेटमा रहेको एसिड लगायतका तरल पदार्थ खाना जाने नली हुँदै माथि आएमा यस्तो लक्षण देखिन्छ । स्वस्थ मानिसमा खाना जाने नली र सञ्चय हुने पेटको बीचमा मांसपेशीले कसिलो बनाएको हुन्छ जसले गर्दा एसिड माथि आउन पाउँदैन । तर कुनै पेटको समस्याले त्यो खुकुलो हुन गएमा एसिड माथि आइ अमिलो पानी आउने समस्या देखिन्छ ।
कुन कुन रोगमा यस्तो समस्या देखिन्छ ?
-ग्यास्ट्राइटिस
-रिफ्लक्स डिजिज
-अल्सर
-खाना नलीको मांशपेशीको समस्या
-पित्तथैलीमा ढुङ्गा हुनु वा अन्य पित्तथैलीको समस्या
-आन्द्राहरु माथि फोक्सोतिर आउने समस्या (डायफ्रामेटिक हर्निया)
अरु लक्षणहरु के के देखिन्छ ?
मुखमा अमिलो पानी आउनेको साथमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छः
-वाकवाकी लाग्ने
-वान्ता हुने
-खान मन नलाग्ने
-दुब्लाउँदै जाने
-छाती पोल्ने
-निल्न गाह्रो हुने
-खोकी लाग्ने
-घाँटी दुख्ने
-दातको रंग बिग्रने
कस्तो बेलामा खतरा हुनसक्छ ?
अमिलो पानी आउने साथसाथै निम्न लक्षण देखिएमा त्यसको उपचारको निम्ति तुरुन्त अस्पताल गइहाल्नुपर्छः
-बान्तामा रगत देखिएमा
-दिसा कालो रंगको आएमा
-पेट सहनै नसक्नेगरि दुखेमा
-तौल धेरै नै घटेमा
जाँच कसरी गर्ने?
के कारणले अमिलो पानी आउने समस्या देखिएको हो भनेर थाहा पाउन अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम विभिन्न जाँचहरु गराउनुपर्छ । इन्डोस्कोपीबाट ग्यास्ट्राइटिस, अल्सर आदि थाहा पाउन सकिन्छ ।
उपचार के हो?
चिकित्सकको सल्लाह अनुसार एसिड बन्न कम गर्ने वा बनेको एसिडको असरलाई न्यूनीकरण गर्ने विभिन्न औषधिहरुको सेवन गर्न सकिन्छ । थोरैमा कुनै किसिमको शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।
कस्तो सावधानी अपनाउने ?
-तौल घटाउने
-रक्सी, चुरोट आदि सेवन नगर्ने
-अमिलो, पिरो खानेकुरा सकेसम्म नखाने
-चिया, कफी पिउन कम गर्ने
-भोकै खालीपेट नबस्ने
-एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने
-सकेसम्म घोप्टो परेर नसुत्ने, नबस्ने
-सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने
-सुत्दा टाउकोलाई तकियाले थोरै माथि उठाउने
No comments:
Post a Comment