जनयुद्धकालमा हामी जानकार र सचेत भएर नै तिमीले देखाएका सपनाहरुलाई सार्थक गञ्तव्यमा पुर्याउने उद्धेश्यले प्रवेश गरेका हौं । तर ती सपनाहरुलाई हावाले कहाँ उडायो ? पानीले कता बगायो ?? खोई थाहा छैन ।
जनयुद्ध भइरहेको त्यस समयमा तिमीले रोल्पा, रुकुमका अशिक्षित वस्तीबाट युद्धको शुरुवात गर्यौ । त्यस ठाऊँका मानिसहरु अशिक्षित थिए ।
तिम्रो महान योजनालाई पूरा गर्ने उद्धेश्यले म पनि जनयुद्धमा वि.सं २०५८ मा संलग्न भएको हुँ । वि.सं २०६८ मा आइपुग्दा हामीलाई अयोग्यको बिल्ला भिराइ बाहिर निकालियो । हाम्रो कुनै सम्मान हुन सकेन । जुन तवरले इजजतको साथ हाम्रो व्यवस्थापन हुनुपर्ने थियो, त्यो हुन नसक्दा हामी निकै नै दुखित छौं ।
हामीलाई अलपत्र पारी बाहिर निकाले पश्चात् अहिले हामी बेसहारा भएका छौं । अहिलेका बेसहारा तर जनयुद्धको समयका हामी वीर योद्धाहरुको छुट्टै सङगठन हुनुपर्ने आवश्यकता महसुस गरेर सबै बहिर्गमित अर्थात ४ हजार ८ जना सदस्यहरुको संस्थाको रुपमा वहिर्गमित जनयुद्ध सेना नामक संस्था स्थापना गरेका छौं ।
समय र परिस्थिति बमोजिम अहिले हामी सबै राजनीतिक रुपमा एउटै आस्थामा छैनौं । जीवीकोपार्जनको निम्ति पनि काम गर्नुपर्ने हुनाले सबै नेपालमा छैनौं । कोही खाडीमा पसिना बगाउन पुगेका छौं । कोही विरामीको रुपमा ओछ्यानमा नै दिनरात विताइरहेका छौं । यद्यपि हामी जो जहाँ भएपनि अहिले पनि नेपालको र जनयुद्धका सेनाहरुको हकहितको निम्ति सबै एकै ठाउँमा थियौं, छौं र हुनेछौं ।
हामीले सबै गुमायौं ! केही पाउन सकेनौं !!
हामी जनयुद्धका वहिर्गमित सेनाहरुलाई दिने भनिएको प्रतिव्यक्ति २ लाख रकम अहिले सम्म पनि हामीलाई वितरण हुन सकेको छैन । जुन रकम सर्वोच्चको कारण रोकिएको छ । अहिले हाम्रा नेताहरु राज्य सत्ता आफ्नो हातमा लिएका छन् । अन्य दलको त के नै आशा भयो र ? तैपनि हामी पनि नेपाली नै हौं । हाम्रो संरक्षण र योगदानलाई सबैले सम्मान नै गर्नुपर्ने जस्तो लाग्छ ।
तर अहिले हामीलाई लाग्छ, हामी जनयुद्धमा होमिएर गल्ति गरेछौं । वास्तवमा नै राजनीति फोहोरी खेल रहेछ । राजनीतिमा संलग्न भइ देश र जनताको हक हित र अधिकारको निम्ति लड्ने कसम खाएका हामीहरुलाई राज्यले केही पनि गर्न नसक्दा हामीले यही बुझेका छौं ।
हामी १३-१४ बर्षको कलिलो उमेरमा नै घर छोडेर आफ्नो ज्यानलाई बाजी राखेर रणभूमीमा निस्कियौं । लड्यौं । बन्दुक र गोलीको प्रवाह गरेनौं । तर हामीले केही पनि पाएनौं । हामीले सबै गुमायौं मात्रै । पढ्ने उमेर गुमायौं । घरपरिवार गुमायौं । आफ्नै शरीर गुमायौं । नातागोता गुमायौं । अन्य क्षेत्रमा जाने अवसर गुमायौं । अहिले हामी अपाङ्गको रुपमा समाजको कलङ्क बनेर बाँच्नुपरेको छ । अहिले हामीलाई अयोग्यको बिल्ला भिराइएको छ । हामी कुन आधारमा अयोग्य भयौं । हाम्रो योगदानको पनि कदर हुनु पर्छ कि पर्दैन ?
प्रचण्ड हामी अर्को युद्धको पर्खाइमा छौं
हामी युद्धको पृष्ठभूमीबाट आएका मानिसहरु अहिले पनि नेपालमा अर्को जनयुद्ध कहिले होला भन्ने प्रतिक्षामा छौं । अहिले पनि हामीले नेपालमा कुनै व्यवसायमा संलग्न हुन सक्ने अवस्थामा छैनौं । अधिकांश हामी काम गरेर खान सक्ने अवस्थामा हुँदाहुँदै पनि अयोग्य नै भनिएको कारण योग्य र सक्षममा गनिँदैनौंँ । यस्तो अवस्थामा हामीले रोज्ने अबको मार्ग भनेको पनि युद्ध र मृत्यु नै हुनेछ ।
अहिले नेकपा (माओवादी) नै सरकारको प्रमुख छ । प्रचण्ड तिमी नै सरकारको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री जस्तो पदमा दोस्रो पटक आसिन हुन पुगेका छौ । यद्यपि तिमीले न त नेपालमा शुसासन ल्याउन सक्यौ न त भ्रष्टाचार अन्त्य गर्न सक्यौ । न जग्गाजमीनको सबैमा सहज पहुँच पुर्याउन सक्यौ । न सबै नेपालीले सजिलै शिक्षा लिन सक्ने वातावरण तयार गर्न सक्यौ । विरामी पर्दा उपचार गर्ने व्यवस्था समेत तिमीले नेपालीहरुलाई गराउन सकेका छैनौ । आखिर तिम्रो जनयुद्धले नेपाल र नेपालीको निम्ति के गर्न सक्यो त ? खै ! मैले त उपलब्धि केही पनि देख्दिन । बरु हिजोको दिन भन्दा अहिले नेपालमा भ्रष्टाचार बढ्दै गएको छ । सुरक्षाको अवस्था कमजोर छ ।
अहिले तिमीहरु सिंहदरबार भित्र मोज गरिरहेका छौ । हाम्रै जनयुद्धका साथीहरुको नाम बेचेर अहिले पनि सत्ताको बार्गेनिङ गरिरहेका छौ । आलिसान भव्य महलमा बसेका तिमीहरुले हामीहरुलाई कुनै पनि हालतमा यसरी गञ्तव्यमा नपुर्याई हामीलाई बीच बाटोमा नै अलपत्र पारेका छौ । यसमा हामी अत्यन्तै दुखी छौं ।
अहिले सम्म जे भएपनि हाम्रो हकहितको निम्ति राजनीतिक दलले विशेष ध्यान दिनैपर्छ । हिजो बन्दुक उठाएर जीवनको उत्सर्ग गरेका जनयुद्धका सेनाहरु अहिले पनि जिवीतै छन् । मरेका छैनन् । अहिले नेपालमा भएका १७÷१८ सय सेनाहरुको नेतृत्व गर्दै आएका छौं । जनयुद्धका योद्धाहरु मध्ये हामी ९२ जना पूर्ण घाइते छौं । ३ सय ९ जना सामान्य घाइते छौं । प्रचण्ड, म आफैं पनि घाइते हुँ ।
प्रचण्ड विगतमा तिम्रा सपनाहरु अहिलेका भन्दा विल्कुल फरक थिए । ती सपनाहरुमा पुतली आगोमा होमिएझैं होमिएका हामीहरु ४० हजार योद्धालाई उधारोमा आफ्नो स्वार्थ पूरा गर्ने किसिमले बेच्यौ । अर्थात हामी जनसेनाहरु बेचियांै । यद्यपि हामीले तिमीलाई त्यत्तिकै छोड्ने छैनौं । तिमी सहग रहु, नेपालमा कुनै त्यस्तो दिन आउन सक्छ कि जहाँ प्रचण्ड तिमी लगायतका उच्च राजनीतिक व्यक्तिहरुलाई आफू बसिरहेको ठाऊँबाट भाग्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैकारण प्रचण्ड तिमी होसियार तवरले बाँच्न सिक ।
अधिकांश हामी अहिले पनि काम गरेर खान सक्ने अवस्थामा छौं । अवसर पाउने हो भने हामी जे गर्न पनि तयार छौं । तर अयोग्य भन्ने उपाधिको कारण हामीलाई जीवीकोपार्जनको निम्ति मैदानमा आउन गाह्रो परेको छ ।
हामीले विभिन्न समयमा आन्दोलन गरिरहेका छौं । हामीलाई प्रदान गर्ने भनेको २ लाख रकम निकै लामो समय देखि म्याद सार्दैै रोकिँदै आइएको छ । यस किसिमले हेर्दा पनि प्रचण्ड तिम्रो सरकार हामी पुर्व लडाकु मात्र नभई सबै नेपाली जनताको दृष्टिबाट समेत नैतिक हिसाबले गिरेको छ ।
प्रचण्ड, म जनयुद्धको क्रममा रुकुम, अछाम, म्याग्दी, गण्डक क्षेत्र लगायतका विभिन्न क्षेत्रमा गएर युद्ध लडेको छु । तिम्रो अभियानलाई सार्थकता दिने मनसायले । दाङमा म घाइते हुनुपरेको थियो । तर २०६० पश्चात्को गण्डक अभियानले नेपालमा शान्ति आएको भनियो । तर हामी भने सन्तुष्ट हुन सकेनौं ।
हामीलाई त हिजोका दिन भन्दा आजका दिन झन् कठिन छन् । हामी हिजो ज्यानलाई आहुति दिने उद्धेश्यले परिवार र समाजको सीमित दायरा भन्दा माथि उठेका व्यक्ति । अहिले त्यही समाजमा बिना कुनै उपलब्धि सर्वस्व गुमाएर फर्कदा कस्तो महसुस भए होला ? कसैले कल्पना शक्तिले भ्यान सक्ला कि ?
भवदीय
अर्जुन बुढाथोकी
अध्यक्ष
केन्द्रीय सङ्घर्ष समिति, बहिर्गमित जनमुक्ति सेना नेपाल
Source: EverestOnlineMedia
No comments:
Post a Comment