काठमाडौं, १३ माघ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेलले गृह मन्त्रालयको निर्णयमा असन्तुष्टि जनाएका छन् ।
प्रहरीको मानवश्रोत विकास विभागका अनुसार बुधबार मध्यराति गृहमन्त्री विमलेन्द्र निधिको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले देशभरका एसएसपीहरुको सरुवा गरेको थियो ।
जसमा रमेश खरेललाई प्रहरी प्रधान कार्यालय यूएन जगेडा र सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।
अनुसन्धानमा पोख्त दुबै अफिसरलाई गृहमन्त्री निधिले खासै काम नहुने हेडक्वाटरमा सरुवा गरिदिएपछि असन्तुष्टि आएको प्रहरी स्रोत बताउँछ । ‘अपराध अनुसन्धानमा पोख्त अफिसरलाई हेडक्वाटर पठाएपछि अपराध अनुसन्धानमा ठूलो असर पर्नेछ’, एक जना प्रहरी अधिकृतले भने- ‘यो निर्णय समय सुहाउँदो भएन् ।’
रमेश खरेल निकट ती अधिकारीका अनुसार आफूलाई यूएन जगेडामा थन्काएपछि खरेल गृहमन्त्रीसँग असन्तुष्ट भएका छन् । यद्यपी खरेल अहिले देशबाहिर छन् ।
यसअघि पनि खरेल विवादास्पद वयानका कारण तत्कालिन गृहमन्त्री वामदेव गौतमका पालमा संगठनभित्र कारवाहीमा परेका थिए । त्यतिबेला उनी काठमाडौं प्रहरी प्रमुख थिए ।
यता एसएसपी सर्वेन्द्र खनाल पनि गृहमन्त्रीको निर्णयबाट सन्तुष्ट छैनन् । तर, संगठनका लागि भन्दै सरुवा निर्णय मान्न बाध्य भएको बताइन्छ ।
No comments:
Post a Comment